काठमाडौँ । नेकपा (एमाले) की सांसद मिनासिंह रखालले सरकारी सेवामा देखिएको चाप घटाउन आवश्यक जनशक्ति व्यवस्थापन गरी सार्वजनिक बिदाका दिनसमेत सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएकी छन्।
बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद रखालले राहदानी, नागरिकता र सवारी चालक अनुमति पत्रलगायतका सेवा लिन सर्वसाधारणले लामो समयसम्म लाइन बस्नुपर्ने अवस्था अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने बताइन्।
उनले सेवाग्राहीको अत्यधिक भीड हुने कार्यालयमा कर्मचारीको संख्या आवश्यकता अनुसार थप गरी सेवा प्रवाहको समय विस्तार गर्नुपर्ने धारणा राखिन्। सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालनमा ल्याउन सके सेवाग्राहीको चाप व्यवस्थापन गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
सांसद रखालले सरकारी सेवा डिजिटल बनाउने घोषणा भइरहे पनि नागरिकले व्यवहारमै सहज सेवा पाउने अवस्था अझै निर्माण हुन नसकेको बताइन्। प्रविधिको प्रयोगसँगै जनशक्ति व्यवस्थापन र सेवा प्रणालीको प्रभावकारी कार्यान्वयनमा समेत ध्यान दिनुपर्नेमा उनले जोड दिइन्।
नागरिकले सरकारी सेवा प्राप्त गर्न अनावश्यक समय र श्रम खर्च गर्नुपर्ने अवस्था अन्त्य गरी छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउनु सरकारको प्राथमिक दायित्व हुनुपर्ने सांसद रखालको भनाइ छ।






