काठमाडौँ । जिल्ला भूमि समस्या समाधान समिति झापाले कनकाई नगरपालिकाका १३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ।
समितिले कनकाई नगरपालिका-३ र ६ मा बसोबास गर्ने भूमिहीन सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा प्रदान गरेको हो।
समितिले सार्वजनिक गरेको विवरण अनुसार वितरण गरिएका जग्गामध्ये केही आवासीय र केही कृषि प्रयोजनका छन्। लामो समयदेखि भोगचलन गर्दै आए पनि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीय लालपुर्जा प्राप्त गरेसँगै कानुनी रूपमा जग्गाधनी बनेका छन्।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधानलाई प्राथमिकतामा राखेको छ। उनीहरूलाई कानुनी रूपमा जग्गाको स्वामित्व प्रदान गरी भूमिसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्यअनुसार लालपुर्जा वितरणको काम अघि बढाइएको हो।






