काठमाडौँ। बालाजु क्षेत्रमा सवारी चालक तथा सर्वसाधारणलाई विभिन्न बहानामा झुक्याएर मोबाइल चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँको तारकेश्वर नगरपालिका-६ निवासी ३३ वर्षीय रञ्जित भण्डारी र रसुवाको उत्तरगया गाउँपालिका-४ घर भई काठमाडौँको मनमैजु बस्ने २३ वर्षीय नवीन थिङ रहेका छन्।
प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले विभिन्न मिति र समयमा मोबाइल चोरी भइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट १२ थान मोबाइल तथा ‘सदा सिकन्दर’ नाम उल्लेख भएका दुई थान राहदानी फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि चोरीसम्बन्धी कसुरमा अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइएको प्रहरीले जनाएको छ।






