काठमाडौँ। सम्पत्ति छानबिन आयोगसँग सम्बन्धित मुद्दाको इजलास गठन तथा मुद्दा स्थानान्तरणको विषयलाई लिएर सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन पेस भएका छन्। ती निवेदन भने हालसम्म दर्ता भइसकेका छैनन्।
अधिवक्ता डा. प्रेमराज सिलवालले आयोगविरुद्ध परेका रिटलाई संवैधानिक इजलासमा पठाउने अदालत प्रशासनको निर्णयमाथि प्रश्न उठाउँदै निवेदन पेस गरेका हुन्।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार सिलवालले प्रधान न्यायाधीश र अदालत प्रशासनको प्रशासनिक निर्णयविरुद्ध उक्त निवेदन पेस गरेका हुन्।
सिलवाल आयोगविरुद्ध यसअघि रिट निवेदन दिने निवेदकमध्ये एक हुन्। गत असारमा सर्वोच्च अदालतको संयुक्त इजलासले सम्बन्धित विवादलाई तीन सदस्यीय पूर्ण इजलासमा पठाउने आदेश गरेको अवस्थामा अदालत प्रशासनले त्यसविपरीत मुद्दालाई संवैधानिक इजलासमा पठाएको उनको जिकिर छ।
त्यसैगरी, संवैधानिक इजलास गठनको प्रक्रियासम्बन्धी अर्को निवेदन पनि सिलवालले पेस गरेका छन्। उनले संवैधानिक इजलासमा न्यायाधीश तोक्दा वरिष्ठता वा गोला प्रक्रियामध्ये कुनै पारदर्शी आधार अपनाउनुपर्ने माग गरे।
पछिल्लो केही सातायता प्रधान न्यायाधीश डा. मनोज कुमार शर्माले आफ्नो निर्णय अनुसार संवैधानिक इजलासमा रहने चार न्यायाधीश छनोट गरेको दाबी गर्दै सिलवालले त्यसको विकल्पमा वरिष्ठता वा गोला प्रक्रियाबाट इजलास गठन गर्नुपर्ने माग राखेका छन्।






