काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीका लागि भक्तपुरमा जग्गा खरिद गर्दा आर्थिक अनियमितता र ठगी गरेको आरोपमा पूर्वअध्यक्ष सञ्जीव थापासहित पाँच जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भक्तपुर जिल्ला अदालतबाट अनुमति लिएर उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रेडक्रसका पूर्वअध्यक्ष थापासहित राजेश देशमरु, उमेशप्रसाद ढकाल, मदनकृष्ण फोजु र इन्द्रबहादुर केसी छन्।
सीआईबीका अनुसार रेडक्रसको गोदाम घर निर्माण गर्न २०७३ सालमा भक्तपुर नगरपालिका-४ (क) मा पाँच रोपनी १३ आना तीन पैसा जग्गा खरिद गर्ने सम्झौता भएको थियो। जग्गा खरिदका लागि रेडक्रसले कुल ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँ भुक्तानी गरेको थियो।
तर, बोलपत्रमा तोकिएको सर्तविपरीत मध्यस्थकर्तामार्फत जग्गा खरिद गरी एक करोड ९३ लाख ७५० रुपैयाँ बिचौलियाले लिएको अनुसन्धानबाट देखिएको सीआईबीले जनाएको छ।
नापी कार्यालय भक्तपुरबाट नापजाँच गराउँदा खरिदसम्बन्धी कागजातमा उल्लेख गरिएको भन्दा कम क्षेत्रफलको जग्गा फेला परेको छ।
सम्झौतामा पाँच रोपनी १३ आना तीन पैसा उल्लेख भए पनि नापजाँचका क्रममा पाँच रोपनी छ आना दुई पैसा एक दाम मात्र देखिएको ब्युरोले जनाएको छ।
संस्थाका तत्कालीन पदाधिकारी तथा कर्मचारीले आफ्नो जिम्मेवारी र पदको दुरुपयोग गरी रेडक्रसलाई आर्थिक क्षति पुर्याएको सीआईबीको आरोप छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त प्रतिवेदनका आधारमा सीआईबीले घटनामाथि अनुसन्धान अगाडि बढाएको हो।
पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले जानकारी दिएका छन्।







