काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जीव थापासहित पाँच पूर्वपदाधिकारीलाई हिरासतमा नराखी अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार पक्राउ गरी भक्तपुर प्रहरीको जिम्मा लगाएका उनीहरूलाई बुधबार अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत भक्तपुरमा उपस्थित गराइएको थियो। तर अदालतले प्रहरीको म्याद थपसम्बन्धी माग स्वीकृत नगरेपछि उनीहरूलाई थुनामा नराखी अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने भएको हो।
भक्तपुर प्रहरी परिसरका डीएसपी दीपककुमार कार्कीले अदालतबाट म्याद थप नभएको जानकारी दिएका छन्।
अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि अब उनीहरूलाई थुनाबाहिर राखेरै सम्बन्धित विषयमा अनुसन्धान अघि बढाइने भएको छ।






