काठमाडौँ । इराकका शीर्ष नेताहरूले बुधवार भ्रमणमा रहेका इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफसँग भेटवार्ता गरी द्विपक्षीय सम्बन्ध र क्षेत्रीय तनावका विषयमा छलफल गरेका छन् । इराकी प्रधानमन्त्री अली अल–जैदीसँगको भेटमा प्रधानमन्त्री जैदीले इराक र इरानबीचको ऐतिहासिक, भौगोलिक र धार्मिक सम्बन्धको गहिराइलाई विशेष जोड दिए ।
प्रधानमन्त्रीको सञ्चार सचिवालयकाअनुसार उनले विशेषगरी इस्लामिक स्टेट (आईएस) समूह विरुद्धको युद्धमा इरानले इराकलाई पुर्याएको सहयोगको उच्च प्रशंसा गरेका थिए । यसैबीच, इराकी संसदका सभामुख हैबत अल–हल्बुसीसँग भएको छुट्टै भेटमा दुई देशबीचको संसदीय कूटनीतिलाई सुदृढ गर्ने, मैत्री समितिहरूलाई सक्रिय बनाउने र द्विपक्षीय सहयोग विस्तार गर्ने विषयमा छलफल भएको इराकी संसदद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सो क्रममा सभामुख हल्बुसीले क्षेत्रीय अशान्तिबाट इराक सबैभन्दा बढी प्रभावित मुलुकमध्ये एक भएको उल्लेख गर्दै इराकको आर्थिक हित रक्षाका लागि हर्मज जलसन्धिमार्फत हुने तेल निर्यातमा इराकलाई विशेष सुविधा प्रदान गर्न आग्रह गरे । त्यस्तै, इराकी राष्ट्रपति निजार अमेदीले क्षेत्रीय संकट समाधान र द्वन्द्व अन्त्यका लागि इराकको निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गरे। राष्ट्रपतिको कार्यालयकाअनुसार उनले विद्यमान समस्याहरूको समाधान र दिगो सुरक्षा, विकास तथा स्थिरता प्रवर्द्धनका लागि रचनात्मक संवाद र कूटनीतिक माध्यमको आवश्यकतामा जोड दिए ।
भेटका अवसरमा इरानी सभामुख गालिबाफले दुई छिमेकी मुलुकबीचको प्रगाढ ऐतिहासिक सम्बन्धको सराहना गर्दै विभिन्न क्षेत्रमा इराकसँग समन्वय र सहकार्य गर्न इरान सदैव तत्पर रहेको बताए ।






