काठमाडौँ । बजारमा अन्डाको मूल्य पुनः बढेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले बिहीबारदेखि लागू हुने गरी फार्मबाट बिक्री हुने अन्डाको समर्थन मूल्य बढाएको हो।
चितवनलाई आधार मानेर निर्धारण गरिएको नयाँ मूल्यअनुसार एक्सएल आकारको अन्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ पुगेको छ। यसैगरी ठुलो अन्डा ५७५ रुपैयाँ र मिडियम आकारको अन्डा ५३५ रुपैयाँ प्रतिक्रेट कायम गरिएको छ। सानो अन्डाको मूल्य भने प्रतिपेटी ३ हजार २०० रुपैयाँ तोकिएको छ।
संघले यसपटक अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाएको हो। यसअघि ३० साउनदेखि एक्सएलको ५७५, ठूलोको ५६० र मिडियमको ५२० रुपैयाँ मूल्य निर्धारण गरिएको थियो।
अन्डाको मूल्यमा पछिल्लो वृद्धि साउनयता भएको पाँचौँ संशोधन हो। साउनको प्रारम्भमा एक्सएल अन्डाको फार्म समर्थन मूल्य प्रतिक्रेट ५२५ रुपैयाँ रहेकोमा महिनाको अन्त्यसम्म आइपुग्दा ५७५ रुपैयाँ पुगेको थियो। भदौ सुरु भएसँगै थप १५ रुपैयाँ बढेपछि उक्त मूल्य ५९० रुपैयाँ कायम भएको हो।
उत्पादन घटेका कारण अन्डाको आपूर्ति र मागबीच असन्तुलन बढेको व्यवसायीहरूको भनाइ छ। बर्डफ्लु संक्रमणका कारण ठुलो संख्यामा कुखुरा नष्ट गर्नुपरेपछि अन्डा उत्पादनमा उल्लेख्य कमी आएको उनीहरूको दाबी छ।
उत्पादनमा आएको कमीका कारण बजारको मागअनुसार आपूर्ति गर्न कठिन भएको र त्यसकै प्रभावले समर्थन मूल्य बढाउनुपरेको नेपाल लेयर्स कुखुरापालक संघले बताउँदै आएका छ।






