काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले उच्चपदस्थ नेपाली नागरिकको विदेशस्थित बैंक तथा वित्तीय संस्थामा रहेको सम्भावित रकमबारे अनुसन्धान गर्न विशेष संयन्त्र गठन गर्न सरकारसमक्ष प्रस्ताव गरेका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा धारणा राख्दै केसीले मुलुकबाहिर हुन सक्ने भ्रष्टाचार तथा अवैध वित्तीय कारोबारको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल राष्ट्र बैंकबीच समन्वय हुने गरी छुट्टै विशेष कार्यदल वा संयन्त्र निर्माण गर्नुपर्ने बताएका हुन्।
उनले जेन जेड आन्दोलनपछि बंगलादेशले उच्चपदस्थ व्यक्तिहरूको विदेशमा रहेको सम्पत्तिको खोजी गर्न विशेष टास्क फोर्स गठन गरेको उदाहरण प्रस्तुत गरे। बंगलादेशले विश्वका विभिन्न बैंक तथा सम्बन्धित निकायलाई पत्राचार गरेर त्यहाँका उच्चपदस्थ व्यक्तिको विदेशस्थित सम्पत्तिबारे विवरण संकलन गर्न थालेको उनको भनाइ थियो।
नेपालमा पनि त्यस्तै प्रकृतिको अनुसन्धान आवश्यक रहेको उल्लेख गर्दै केसीले अख्तियार र राष्ट्र बैंकबीच विशेष समन्वय कायम गरेर देशबाहिर हुन सक्ने भ्रष्टाचारसम्बन्धी आर्थिक गतिविधिको अध्ययन गर्न सकिने धारणा राखे।
उनले विदेशमा हुने वित्तीय अनियमितता र भ्रष्टाचार नियन्त्रणलाई राज्यको अनुसन्धान प्रणालीको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। विश्वका विभिन्न मुलुकमा नेपालीको रकम रहेको चर्चा भइरहेकाले त्यसको वास्तविकता पत्ता लगाउन संस्थागत पहल आवश्यक रहेको उनको भनाइ थियो।
केसीले सिंगापुर, कम्बोडिया र स्विट्जरल्यान्डका बैंकसहित विभिन्न मुलुकमा नेपालीको रकम रहेको भन्ने सार्वजनिक चर्चालाई संकेत गर्दै त्यस्ता विषयमा तथ्यमा आधारित अनुसन्धान अघि बढाउनुपर्ने बताए।
मुलुकभित्रका भ्रष्टाचारसम्बन्धी अनुसन्धानसँगै विदेशमा हुन सक्ने अवैध रकम स्थानान्तरण, सम्पत्ति लुकाउने तथा वित्तीय कारोबारसम्बन्धी विषयलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनको प्रस्ताव छ।






