काठमाडौँ । समस्याग्रस्त सहकारीसँग सम्बन्धित कालोसूचीमा रहेका राकेशकुमार रावललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
विमानस्थल सुरक्षा प्रहरीले बिहीबार बिहान उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार रावल नेपाल एयरलाइन्सको उडानमार्फत भारतको बेंगलोर जाने तयारीमा थिए।
प्रस्थानका क्रममा गरिएको जाँचका क्रममा उनी समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेको खुलेपछि विमानस्थल प्रहरीले उनलाई रोकेको हो।
विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिलवालका अनुसार नियन्त्रणमा लिइएका रावललाई आवश्यक कारबाहीका लागि अध्यागमन विभागमा पठाइएको छ।
प्रहरीले घटनासम्बन्धी थप विवरण तथा आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।






