काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टी तथा राजनीतिमा जिम्मेवारी र पदलाई लिएर देखिने असन्तुष्टिप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन्।
काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै थापाले पाँचपटक प्रधानमन्त्री भइसकेको व्यक्ति छैटौँ पटक उक्त पदमा पुग्न नपाएको विषयमा असन्तुष्ट हुने अवस्था रहेको बताए। त्यस्तै, पार्टीको नेतृत्वमा दुई पटक जिम्मेवारी सम्हालिसकेकाले पुनः नेतृत्व गर्न नपाएकोमा असन्तुष्टि व्यक्त गर्ने प्रवृत्तिसमेत रहेको उनको भनाइ थियो।
उनले राजनीतिक नेतृत्वमा रहेका व्यक्तिहरू स्वयं पनि प्राप्त जिम्मेवारी र पदका विषयमा असन्तुष्ट हुने गरेको उल्लेख गरे।
थापाको टिप्पणी पूर्वप्रधानमन्त्री एवं काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवातर्फ लक्षित देखिएको छ। देउवा नेपालमा पाँचपटक प्रधानमन्त्री भइसकेका नेता हुन्।
उनले पछिल्लो समय राजनीतिक गतिविधि नीति, विचार र जनसेवाभन्दा राज्यका उच्च पद प्राप्त गर्ने विषयतर्फ बढी केन्द्रित हुँदै गएको धारणा पनि राखे।






