काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नेता कमल थापाले बागमती प्रदेशसभाका संसदीय दलका नेता उद्धव थापामाथि गरिएको कारबाहीप्रति औपचारिक असहमति जनाएका छन्।
पार्टीले पर्याप्त छलफल नगरी निर्णय गरेको दाबी गर्दै कमल थापाले उक्त निर्णयमा नोट अफ डिसेन्ट दर्ता गराएका हुन्। उनका अनुसार आफू मात्र नभई पार्टीका केही अन्य नेताहरूले समेत कारबाहीको निर्णयप्रति असहमति राखेका छन्।
थापाले पार्टीको विधानअनुसार आवश्यक प्रक्रिया पूरा नगरी संसदीय दलका नेतालाई कारबाही गरिएको आरोप लगाए। निर्णय प्रक्रियामा संस्थागत छलफल र विधिसम्मत अभ्यासलाई बेवास्ता गरिएको उनको भनाइ छ।
पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टीभित्र निर्णय गर्दा विधान र स्थापित प्रक्रियाको पालना हुनुपर्ने बताए। उद्धव थापामाथिको कारबाहीलाई उनले निरंकुश शैलीमा गरिएको निर्णयका रूपमा व्याख्या गर्दै आफूहरू त्यसलाई स्वीकार गर्ने पक्षमा नरहेको स्पष्ट पारे।
यसअघि राप्रपाले पार्टीको निर्देशन विपरीत बागमती प्रदेश सरकारलाई समर्थन गरेको भन्दै उद्धव थापामाथि कारबाही गर्ने निर्णय गरेको थियो। सो निर्णयप्रति पार्टीभित्रै असहमति देखिएपछि राप्रपाको आन्तरिक विवादसमेत सार्वजनिक भएको छ।






