काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार, निष्पक्षता र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन् ।
बिहीवार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष राईले आयोगको प्रभावकारितामाथि प्रश्न उठाएका हुन् । राईले प्रधानमन्त्रीले आयोगका आयुक्तहरूलाई बोलाएर दबाबमा राखेको भन्ने चर्चाबारे सत्यतथ्य माग गरे । कार्यकारी प्रमुखबाटै अधिकारको दुरुपयोग भएको अवस्थामा कारबाही गर्ने निकाय कुन हो भन्दै उनले दुविधा व्यक्त गरे। सांसद राईले अख्तियारको परिभाषा केवल आर्थिक विषयमा मात्र सीमित हुन नहुने तर्क गरे। उनले अधिकारको दुरुपयोग हुनु नै भ्रष्टाचार भएको उल्लेख गर्दै आयोगले आर्थिकबाहेकका अन्य प्रशासनिक र पदीय दुरुपयोगका विषयमा पनि सक्रियता देखाउनुपर्नेमा जोड दिए।
आयोगको काम कारबाही हालसम्म कर्मकाण्डी मात्र देखिएको टिप्पणी गर्दै उनले निष्पक्ष र निर्भय भएर काम गर्न नसके आयोगको औचित्यमाथि प्रश्न उठ्ने बताए ।
अध्यक्ष राईले भने, ‘प्रधानमन्त्रीले आयुक्तहरूलाई बोलाएर बन्दी जस्तो बनाउनुभएको कुरा सदनमा पनि उठेको थियो । त्यो दिन आयोगका पदाधिकारीहरूलाई त्यहाँ लगेर के के गर्न लगाइयो, यसबारे स्पष्ट पारिनुपर्छ ।’
राईले आयोगले गर्ने अनुसन्धानमा विभेद भएको आरोप समेत लगाए। पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूलाई मात्र कारबाहीको दायरामा ल्याइने तर बहालवाला पदाधिकारीहरूलाई उन्मुक्ति दिइने प्रवृत्तिप्रति उनले आपत्ति जनाए ।






