काठमाडौँ । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण गरेको छ। प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले खरिद गरेका ती सवारीसाधन सोमबार प्रहरीलाई प्रदान गरिएको हो।
गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले प्रदेशको शान्तिसुरक्षा व्यवस्थापनलाई चुस्त-दुरुस्त बनाउने उद्देश्यले सवारीसाधन उपलब्ध गराइएको जानकारी दिए।
मन्त्रालयका अनुसार प्रदेशका आठ जिल्ला प्रहरी कार्यालय र चार इलाका प्रहरी कार्यालयलाई एक-एक वटा पिकअप जिप दिइएको छ।
सवारीसाधन प्राप्त गर्ने इलाका प्रहरी कार्यालयमा रौतहटको चन्द्रपुर र गरुडा तथा सर्लाहीको गोडैता र गडहिया रहेका छन्। मन्त्रालयले प्रत्येक गाडी मूल्य अभिवृद्धि कर (भ्याट)सहित ३९ लाख पाँच हजार रुपैयाँमा खरिद गरेको जनाएको छ।
सवारीसाधन हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिव विन्देश्वरीप्रसाद लेखक, मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीलगायतको उपस्थिति थियो।






