काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीका अनुसार आज बिहान १०:०० बजेसम्म काभ्रेपलान्चोक, सिन्धुली, मकवानपुर, नुवाकोट, इलाम, सिन्धुपाल्चोक, रसुवा र रुकुम पश्चिमका सडक खण्ड प्रभावित भएका थिए ।
काभ्रेपलान्चोक हुँदै खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी-सिन्धुली चल्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै राति ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सम्पूर्ण सवारीसाधनको आवागमन रोकिएको छ । बिहान ४:०० बजेदेखि बेलुका ६:०० बजेसम्म भने सवारीसाधन सञ्चालन हुने जनाइएको छ ।
त्यसैगरी, वर्षाका कारण मकवानपुरको कान्ति लोकपथमा राति ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सबै किसिमका सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।
नुवाकोटको टोखा-छहरे सडक खण्डमा पनि राति १०:०० बजेदेखि बिहान ५:०० बजेसम्म अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन बन्द गरिएको छ ।
वर्षाका कारण इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडकमा हिलो भएका कारण सवारीसाधन सञ्चालन हुन नसकेको र उक्त स्थानमा वैकल्पिक बाटो रहेको जनाइएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ लिपिङ बजारस्थित अरनिको राजमार्गमा भदौ ५ गते खहरे खोलाबाट आएको लेदो तथा ढुंगासहितको पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेस्थित त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडक खण्ड त्रिशूली नदीले सडकमुनिबाट कटान गरेपछि पूर्णरूपमा अवरुद्ध भएको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट-डोल्पा सडक खण्डमा सडक माथिबाट ढुंगा, माटोसहितको लेदो आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार वर्षाका कारण सडक अवरुद्ध हुने तथा जोखिम बढ्ने क्रम रहेकाले सम्बन्धित सडक खण्डमा यात्रा गर्दा सावधानी अपनाउन आवश्यक छ ।






