काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
मोदीले बुधबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत संवादबारे जानकारी दिँदै कठिन परिस्थितिमा भारतका जनता नेपाली नागरिकको साथमा रहेको बताएका छन्।
‘नेपालमा आएको बाढीबाट भएको मानवीय क्षतिप्रति प्रधानमन्त्री वालेन्द्र शाहसँग समवेदना व्यक्त गरेको छु,’ मोदीले भनेका छन्, ‘यस कठिन घडीमा भारतका जनता नेपालका दिदीबहिनी तथा दाजुभाइसँग ऐक्यबद्ध छन्।’
उनले नेपाललाई सम्भव भएसम्मका सबै मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको पनि बताएका छन्। उद्धार तथा राहत कार्यका लागि दुवै देशका टोलीबीच निकट समन्वय भइरहेको मोदीको भनाइ छ।






