काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिएको नेपाली सेनाले आज बिहान मात्रै हेलिकप्टरमार्फत १२३ जनाको उद्धार गरेको छ। नेपाली सेनाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट ९५ जनालाई सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये आठ जना विदेशी नागरिक छन्।
सेनाले विदेशी नागरिकलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको र अन्य उद्धार गरिएकालाई धुन्चे ल्याउने तयारी गरिएको जनाएको छ।
त्यसैगरी, रसुवाको हाकुस्थित जलविद्युत् आयोजनाको टनेलमा फसेका सात जनालाई जीवितै उद्धार गरिएको छ। सो क्षेत्रमा रहेका अन्य तीन वटा टनेलमा पनि खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।
टिमुरे क्षेत्रमा सम्पर्कविहीन रहेका २१ जना भारतीय पर्यटकलाई समेत जीवितै उद्धार गरिएको छ। उनीहरूलाई काठमाडौँ ल्याउने क्रम जारी रहेको नेपाली सेनाले जनाएको छ।
भोटेकोशीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले स्थल तथा हवाई माध्यमबाट खोज, उद्धार तथा प्रभावितलाई सुरक्षित स्थानमा सार्ने कार्यलाई निरन्तरता दिएको छ।






