काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा स्थलगत उद्धारलाई निरन्तरता दिएको छ। सेनाले आज बिहानदेखि साढे ९ बजेसम्म १५ विदेशी नागरिकसहित १०५ जनाको हेलिकप्टरमार्फत उद्धार गरेको छ।
नेपाली सेनाले दिएको पछिल्लो जानकारीअनुसार टिमुरे क्षेत्रबाट १५ विदेशी नागरिकसहित ९८ जनाको हवाई उद्धार गरिएको छ। त्यस्तै, मैलुङस्थित टनेलबाट सात जनालाई उद्धार गरिएको छ।
सेनाका अनुसार बाढी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित निकायसँगको समन्वयमा घाइतेको स्थल तथा हवाई उद्धार भइरहेको छ। प्रभावितलाई आपत्कालीन उपचार उपलब्ध गराउने र राहत सामग्री वितरण गर्ने कार्यसमेत जारी छ।
बाढीका कारण प्रभावित तथा जोखिममा परेका व्यक्तिको खोज तथा उद्धारका लागि नेपाली सेनाले स्थल र हवाई दुवै माध्यमबाट जनशक्ति परिचालन गरेको छ।






