काठमाडौँ । रसुवामा आएको बाढीपछि प्रभावितको खोज तथा उद्धार, उपचार र राहतमा नेपाली सेनाले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ। सेनाले बिहीबार बिहानदेखि साँझ ७ बजेसम्म हवाई र जमिनी माध्यमबाट ८९६ जनालाई सुरक्षित स्थानमा पुर्याएको जनाएको छ।

नेपाली सेनाका अनुसार टिमुरे, स्याफ्रुबेँसी, धुन्चे तथा मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत १०१ विदेशी नागरिकसहित ६९६ जनाको हवाई उद्धार गरिएको छ भने थप २०० जनालाई जमिनमार्फत सुरक्षित स्थानमा सारिएको छ।
बाढी प्रभावितलाई तत्काल उपचार उपलब्ध गराउन सेनाले मेडिकल टोलीसमेत परिचालन गरेको छ। वीरेन्द्र अस्पतालबाट चिकित्सक अधिकृतसहित खटिएको मेडिकल टोलीले त्रिशूलीमा स्थापना गरिएको आपत्कालीन उपचार केन्द्रमा ३५४ जनालाई स्वास्थ्य सेवा दिएको छ।
त्यस्तै, फिल्ड एम्बुलेन्सबाट खटिएको मेडिकल टोलीले धुन्चे क्षेत्रमा ५४६ जनालाई सेवा दिएको छ। दुवै स्थानमा गरी हालसम्म ९०० जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको सेनाले जनाएको छ।
ड्रोन र सैनिक कुकुरसमेत परिचालन
खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सेनाले ड्रोन र सैनिक कुकुरसमेत प्रयोग गरेको छ। रसुवा तथा नुवाकोटमा ४ हजार २०० भन्दा बढी र नुवाकोटदेखि चितवनसम्म एक हजार २०० भन्दा बढी सैनिक परिचालन गरिएको छ।
परिचालित फौजले सम्बन्धित निकायसँगको समन्वयमा घाइते तथा प्रभावितको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरण गरिरहेको छ। पृथ्वी राजमार्गमा बाढीले थुपारेको लेदो हटाएर सडक सञ्चालनमा ल्याउने तथा बाढी प्रभावित जिल्लामा शव उद्धार गर्ने कार्यमा समेत सैनिक खटिएका छन्।
टनेलमा सम्पर्कविहीनको खोजी गरिने
सेनाले शुक्रबार भदौ १२ गते पनि प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई निरन्तरता दिने जनाएको छ। नदी किनारमा शवको खोजतलास तथा व्यवस्थापनमा सहयोग गर्नुका साथै आपत्कालीन उपचारलाई निरन्तरता दिइनेछ।
मैलुङ, टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा खोज तथा उद्धार जारी राख्ने, आसपासका टनेलमा रहेका सम्पर्कविहीन व्यक्तिको खोजी गर्ने तथा त्रिशूली–धुन्चे सडक सञ्चालनमा ल्याउन सैनिक परिचालन गर्ने योजना रहेको सेनाले जनाएको छ।






