काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा हालसम्म सुदूरपश्चिम प्रदेशका एक सयभन्दा बढी नागरिक सम्पर्कविहीन रहेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, कैलालीले त्यहाँका नौवटै जिल्लाबाट आफन्तको खोजीका लागि जानकारी आइरहेको र त्यसक्रममा एक सयभन्दा बढी बढी सम्पर्कविहीन रहेको सूचना आएको जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले तीमध्ये कैलालीका ३१, कञ्चनपुरका २९, डडेल्धुराका १५, बाजुराका १४, बैतडीका चार, दार्चुला तीन, डोटीका दुई, बझाङका दुई र अछामका एक जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको जानकारी दिए ।
कैलालीका मात्र ४९ जना सम्पर्कविहीन भएका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाले जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा काम, व्यवसाय तथा अन्य सिलसिलामा पुगेका उनीहरू हालसम्म परिवार तथा आफन्तसँग सम्पर्कमा नआएको उनले बताए । प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएका व्यक्तिको विवरण टिपाउन प्रहरीले आफन्तजनलाई अनुरोध गरेको छ ।






