काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा पुनः पानीको बहाव बढेको सूचना आएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार २०८३ भदौ १० गते ठूलो बाढी आएको सोही क्षेत्रमा शुक्रबार लेदोसहित पानीको बहाव केही बढेको जानकारी प्राप्त भएको हो। यसबाट थप बाढी आउन सक्ने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।
विशेष गरी भोटेकोशी र त्रिशूली नदी किनारमा उद्धार तथा राहत कार्यमा खटिएका व्यक्ति र अन्य कारणले जोखिम क्षेत्रमा रहेका नागरिकलाई अवस्थाको निरन्तर निगरानी गर्न प्राधिकरणले आग्रह गरेको छ।
नदीको बहाव तथा आसपासको अवस्था जोखिमपूर्ण देखिएमा सुरक्षित स्थानतर्फ तत्काल सर्नसमेत प्राधिकरणले अनुरोध गरेको छ। सम्भावित थप बाढीको जोखिमलाई ध्यानमा राखी उद्धार तथा राहतमा संलग्न जनशक्तिसहित नदी किनारका बासिन्दालाई विशेष सावधानी अपनाउन भनिएको हो।







