काठमाडौँ । मध्यपुरथिमि नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुन:स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा रु. ५१ लाख सहयोग गर्ने भएको छ ।
नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा आज सम्पन्न नगरकार्यपालिकाको ५२औँ बैठकले जनप्रतिनिधिको एक महिनाको पारिश्रमिक तथा अन्य कर्मचारीको दुईदेखि सात दिनसम्मको पारिश्रमिक र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट थप गरी रु. ५१ लाख एक सय पाँच उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले बाढीका कारण बेपत्ता भएका नागरिकको सकुशल उद्धार एवं घाइतेहरूको स्वास्थ्योपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग अनुरोध गरेको प्रवक्ता कृष्णहरि आचार्यले जानकारी दिए ।






