काठमाडौँ । भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध भएको रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौँ-टोखा-छहरे-गड्खारपुल-आप्र-नर्जा-लच्याङ-सरमथली-पाटीखर्क हुँदै बोगटीटार-कालिकास्थान-धुन्चेसम्मको सडकखण्डमा चारपाङ्ग्रे साना सवारीसाधन चलाउन मिल्ने गरी सडक सञ्चालनमा आएको हो ।
उक्त खण्ड सञ्चालनमा आएसँगै रसुवा पुनः सडक सञ्जालसँग जोडिएको प्राधिकरणले जनाएको छ । सडक सम्पर्क पुन:स्थापित भएपछि बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा अत्यावश्यक सामग्री पुर्याउन सहज हुने अपेक्षा गरिएको छ । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।
बाढीका कारण सयौँको मृत्यु हुनुका साथै हजारौँको सङ्ख्यामा नागरिक सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन तथा प्रभावित नागरिकको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकाय तथा सम्बन्धित सरोकार भएका निकाय परिचालन भएका छन् । प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत वितरण कार्यलाई निरन्तरता दिइएको छ ।






