काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनामा सहयोग पुर्याउन नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ।
बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नाइमाले विपद् सुरु भएयता आफ्ना सदस्य कम्पनीहरूलाई राहत तथा उद्धारमा परिचालन गर्दै आएको जनाएको छ। सदस्य कम्पनीहरूले आर्थिक सहयोगसँगै यातायात र लजिस्टिक व्यवस्थापनमार्फत प्रभावित क्षेत्रमा सहयोग पुर्याइरहेको संस्थाको भनाइ छ।
नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले विपद्को समयमा प्रभावित नागरिक तथा सरकारलाई आवश्यक सहयोग उपलब्ध गराउनु निजी क्षेत्रको समेत दायित्व भएको बताइन्। राहत र पुन:स्थापनाको काम प्रभावकारी बनाउन सरकारी निकाय, निजी क्षेत्र र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
नाइमाले स्थापना भएदेखि नै विभिन्न विपद् तथा आपत्कालीन परिस्थितिमा सरकार र प्रभावित समुदायलाई सहयोग गर्दै आएको जनाएको छ। संस्थाले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।






