काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संघीय सरकारले रसुवा बाढी पीडितको लागि राहत सामग्री संकलन गरे पनि प्रभावित क्षेत्रमा पुर्याउन नसकेको आरोप लगाएका छन् ।
आइतबार एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उहाँले प्रभावित क्षेत्रमा राहत पुर्याउन सरकार असफल भएको बताएका हुन् । संघिय सरकारले राहत नेपाली सेनाको नुवाकोटको बट्टारस्थित ब्यारेक र रसुवाको धुन्चेस्थित ब्यारेकमा संकलन गरेर राखेको उनले बताए । उनले संघीय सरकारले स्थानीय र प्रदेश सरकारलाई बेवास्ता गर्दा प्रभावकारी ढंगले राहत वितरण तथा उद्धारको काम हुन नसकेको उल्लेख गरे। उनले प्रधानमन्त्री कार्यालयमा आइतबार भएको छलफलपछि राहत सामग्री प्रभावित क्षेत्रमा वितरण गर्ने जिम्मेवारी बागमती सरकारलाई दिएको जानकारी दिए । उनले अब प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरेर राहत सामग्री वितरण गर्ने बताए ।
उनले भने, ‘आज प्रधानमन्त्री कार्यालयबाट मलाई साढे ११ बजे बोलाएको थियो । त्यहाँको विपद् व्यवस्थापनको टिमसँग म बसेँ । उहाँहरूले राहत संकलन गर्नुभएको छ, तर सम्बन्धित ठाउँमा अहिले पनि राहत पुगेको छैन । मैले त्यहाँ त्यहीबाट गोसाईंकुण्ड गाउँपालिका अध्यक्षज्यूलाई फोन लगाए र उहाँलाई ह्यान्ड्सफ्रि सुनाएँ । जति पनि राहत सामग्रीहरू नुवाकोटको बट्टारमा गएर बसेको छ । अनि रसुवाको धुन्चेको ब्यारेकमा गएर बसेको छ । त्यो सामग्रीलाई डिस्ट्रिब्युसन गर्नुपर्यो, मुख्यमन्त्रीज्यू अब हामीबाट नहुने भो । यो चाहिँ तपाईँले स्थानीय पालिकाबाट समन्वय गर्दिनु पर्यो, पालिकाका अध्यक्षज्यूहरूलाई जोड दिएर त्यसको जिम्मा अब तपाईँले लिदिनुपर्यो भनेर आज अहिले मलाई जिम्मा लगाउने काम भएको छ । अहिले सबैभन्दा बढी क्षति गोसाईंकुण्ड गाउँपालिका, उत्तरगया र किसपाङ यो तीनवटा पालिकामा बढी क्षति भएको छ । गोसाइँकुण्डमा झन्डै त्यहाँ २ हजारभन्दा बढी मिसिङ हुनुभएको छ । त्यहाँको स्याफ्रुबेसी, टिमुरे लगायतका क्षेत्रहरू पुरै बजारै ध्वस्त भएको छ । म आफैँ फिल्डमा गएर हेरेर आएँ । त्यसैगरी तल चाहिँ नि उत्तरगयाको बेत्रावती बजार कुनै पनि घरहरू नभइराखेको अवस्था छ । त्यो लासहरू त्यो खोलाको वरिपरि यत्रतत्र छरिराखेको अवस्था छ ।’
मुख्यमन्त्री किरण थापाले रसुवामा आएको बाढीवाट करिव ५ हजारभन्दा बढी मानिस बेपत्ता भएको दाबी गरे । उनकाअनुसार गोसाईंकुण्ड, उत्तरगया र किस्पाङ गाउँपालिकामा बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।
गोसाईंकुण्ड गाउँपालिकामा मात्रै करिव २ हजारभन्दा बढी मानिस बेपत्ता भएको उनले बताए । बाढीमा संविधानसभा सदस्य कर्ण लामाको परिवारका सदस्यहरू पनि बेपत्ता भएको उनले जानकारी दिए। गोसाईंकुण्ड गाउँपालिकाकी पूर्वउपाध्यक्ष प्रतिभा लामा, वडा नम्बर २ का अध्यक्ष कामी छिरिङ तामाङ र वडा नम्बर ५ का अध्यक्ष दावा मिङ्मा तामाङसमेत बेपत्ता रहेका छन् ।






