काठमाडौँ । नेपाल–चीन सीमास्थित केरुङ (जिरोङ) नाका जोड्ने अवरुद्ध सडक खण्ड मर्मत गरी यातायात सुचारु गराउन उद्धारकर्मीहरूले प्रयासलाई तीव्र पारेका छन् ।
गत अगस्ट २६ मा नेपालतर्फ खसेको हिम-पहिरो (आइस-रक एभलान्च) का कारण आएको भीषण लेदोसहितको पहिरोले केरुङ नाका क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो ।
सोही समयदेखि अवरुद्ध रहेको यस महत्वपूर्ण व्यापारिक मार्गलाई पुनः सञ्चालनमा ल्याउन उद्धार टोलीहरू अहोरात्र कार्यक्षेत्रमा खटिएका छन् ।
सोमवार मध्याह्नसम्मको प्रगति विवरणअनुसार उद्धारकर्मीहरूले नाकाभन्दा करिब १.१ किलोमिटरको दूरीसम्मको सडक सफा गरिसकेका छन् ।
क्षतिग्रस्त सडक खण्डहरूको मर्मत र अवरोध हटाउने कार्यलाई उच्च प्राथमिकतामा राखी द्रुत गतिमा अगाडि बढाइएको छ । नाकालाई यथाशीघ्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ उद्धारकर्मीहरूले काम गरिरहेका छन् ।






