काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नागरिकको खोजी, जनधनको सुरक्षा, उद्धार तथा राहत व्यवस्थापनका लागि सरकारले मंगलबारसम्म ७ हजार ९९२ प्रहरी परिचालन गरेको छ।
प्रभावित क्षेत्रका बहुआयामिक समस्या सम्बोधन गर्न र सम्भावित विपद्जन्य जोखिम न्यूनीकरण गर्न विभिन्न प्रदेश तथा युनिटबाट ठूलो संख्यामा प्रहरी टोली परिचालन गरिएको हो।
खटिएका प्रहरीमध्ये प्रहरी प्रधान कार्यालयबाट १ हजार ६०२, बागमती प्रदेश प्रहरी कार्यालयबाट २ हजार १८२, गण्डकी प्रदेशबाट १ हजार ३०९, लुम्बिनी प्रदेशबाट ६४० र काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट ७५४ जना परिचालन भएका छन्।
यसैगरी, प्रहरी अस्पताल महाराजगञ्जबाट ३९७, राप्रप्रप्र महाराजगञ्जबाट ४५०, प्रहरी शिक्षालयबाट ३५६ र प्रयुताके जर्गाहबाट २२२ जना प्रहरी खटिएका छन्।
डीआईजीको नेतृत्वमा २४सै घण्टा सूचना व्यवस्थापन केन्द्र
बाढी प्रभावित क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न प्रहरी प्रधान कार्यालयमै ‘आपत्कालीन समन्वय केन्द्र’ स्थापना गरिएको छ।
विपद्सम्बन्धी सम्पूर्ण कार्य तथा तथ्याङ्क व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी)को नेतृत्वमा २४सै घण्टा सञ्चालन हुने गरी ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ समेत गठन गरिएको छ।
यसबाट प्रभावित क्षेत्रको अवस्था, खोज तथा उद्धार, जनशक्ति परिचालन र अन्य विपद्सम्बन्धी सूचनाको समन्वय तथा व्यवस्थापन भइरहेको छ।
अस्पताल र विमानस्थलमा ‘फोकल डेस्क’, डीआईजीदेखि डीएसपीसम्म परिचालन
विपद्का बेला घाइतेको उपचार तथा मृतकका परिवारसँग समन्वय गर्न प्रहरीले अस्पताल र विमानस्थलमा ‘फोकल डेस्क’ स्थापना गरेको छ।
घाइतेहरूको उपचार भइरहेका तथा शव सङ्कलन गरिएका काठमाडौँसहित विभिन्न अस्पतालमा प्रहरी नायब उपरीक्षकहरूको नेतृत्वमा विशेष प्रहरी टोली परिचालन गरिएको छ।
वीर अस्पतालमा ३०, सिभिल अस्पतालमा १३ र काठमाडौँ मेडिकल कलेजमा पाँच जना प्रहरी खटिएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा ६२ जना प्रहरी परिचालन गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी उपरीक्षक ९एसपी०को नेतृत्वमा आठ जना प्रहरी परिचालन गरी स्वदेशी तथा विदेशी नागरिकको शव व्यवस्थापन र घाइतेहरूको लगत तयार पार्ने डेस्क स्थापना गरिएको छ।
१२ ड्रोन, पाँच तालिमप्राप्त कुकुर र सात स्याटेलाइट फोन प्रयोगमा
बाढी प्रभावित क्षेत्रमा खोज तथा अनुसन्धानलाई तीव्र बनाउन प्रहरीले प्रविधिको समेत प्रयोग गरेको छ। रसुवा, नुवाकोट र धादिङमा गरी १२ वटा ड्रोन परिचालन गरिएका छन्। पैदल गस्ती गर्न कठिन दुर्गम क्षेत्रमा समेत ड्रोनमार्फत निगरानी र खोजी भइरहेको छ।
खोजीका लागि पाँचवटा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ भने सञ्चार सम्पर्क विच्छेद भएका दुर्गम क्षेत्रमा सूचना आदानप्रदान गर्न सातवटा स्याटेलाइट फोन प्रयोगमा ल्याइएको छ।
घटनास्थल अनुसन्धान र मुचुल्काका लागि ६७ जना तथा विभिन्न जिल्लामा शव पहिचान र व्यवस्थापनका लागि ७१५ जना प्रहरी परिचालन भएका छन्।
प्रभावित क्षेत्रमा ‘सिन अफ क्राइम अफिसर’सहितको टोली परिचालन गरिएको छ। शवको डीएनएलगायत वैज्ञानिक परीक्षणका लागि फरेन्सिक विज्ञहरूको विशेष टोलीसमेत खटाइएको छ। घाइतेहरूको तत्काल उपचारका लागि नेपाल प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोली पनि प्रभावित क्षेत्रमा परिचालित छ।
शवबाट गहना निकाल्ने दुई जना पक्राउ
विपद्पछि हुन सक्ने चोरी, लुटपाट र ठगीजस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीले सुरक्षा निगरानीसमेत बढाएको छ।
नारायणी नदीले बगाएर ल्याएको एक महिलाको शवबाट सुनको मुन्द्रा तथा गहना निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चितवन प्रहरीले अनुसन्धान गरी दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवनको मदनपुरका २५ वर्षीय मदन गुरुङ र ३८ वर्षीय उमेश चौधरी रहेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विपद्का समयमा पीडितमाथि हुने लुटपाट तथा अमानवीय गतिविधि कुनै पनि हालतमा सह्य नहुने प्रहरीले जनाएको छ।
सेफ तोडेर रकम हिनामिना गरेको आरोपमा २९ जना नियन्त्रणमा, ९२ लाख ६८ हजार बरामद
बाढीले बगाएर धादिङको गल्छी-४ स्थित बेल्खुखोला क्षेत्रमा त्रिशूली नदी किनारमा पुर्याएको बैंकको पैसा राख्ने सेफ तोडेर नगद हिनामिना गरेको आरोपमा प्रहरीले २९ जना स्थानीयलाई नियन्त्रणमा लिएको छ।
उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको छ। यसैगरी, बाढीपीडितका नाममा नक्कली पोस्ट बनाएर सामाजिक सञ्जाल फेसबुकमार्फत रकम असुल गर्न खोजेको आरोपमा प्रहरीले रामेछापको गोकुलगंगा-२, ठोसे बजारका ३२ वर्षीय सृजन कार्कीलाई पक्राउ गरेको छ।
थप दुई सेफ फेला, अर्को निकाल्ने प्रयास
गल्छी-६ बैरेनी बजारमा सडक सफा गर्ने क्रममा बालुवा र लेदोले पुरिएको अवस्थामा १९ इन्च लम्बाइ र १६ इन्च चौडाइ भएको बन्द सेफ फेला परेको छ। उक्त सेफ प्रहरी चौकी बैरेनीमा सुरक्षित राखिएको छ।
परेवाटार मलेखुस्थित त्रिशूली नदीको बगरमा पनि नफोडिएको अवस्थामा अर्को एउटा सेफ फेला परेको छ। मलेखु खोलामा देखिएको अर्को सेफ निकाल्ने प्रयास जारी छ।
नारायणी नदी आसपास मात्रै ७५७ प्रहरी
बाढीको बहाव पहाडबाट तराईतर्फ झर्दै गर्दा सम्भावित जोखिम न्यूनीकरणका लागि प्रहरीले तल्लो तटीय क्षेत्रमा समेत विशेष निगरानी बढाएको छ।
चितवनको नारायणी नदी आसपासमा मात्रै ७५७ प्रहरी परिचालन गरिएको छ। भौतिक अवरोध हटाउने र बाढीबाट फेला परेका सामग्रीको व्यवस्थापनमा पनि प्रहरी सक्रिय रहेको छ।
विपद्को संवेदनशील अवस्थामा नागरिकको सुरक्षा, राहत वितरणको सहजीकरण तथा पीडितको खोज र उद्धारमा नेपाल प्रहरी निरन्तर परिचालित रहेको छ। प्रहरीले प्रभावित क्षेत्रका नागरिकलाई संयमित रहन आग्रह गर्दै सामुदायिक सचेतनाका कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ।






