काठमाडौँ । रसुवा बाढीका कारण त्रिशूली नदीमा आएको बाढीले सडक तथा पुलमा क्षति पुगेपछि यातायात सम्पर्क विच्छेद भएका रसुवा र धादिङ जिल्लाका सदरमुकामलाई वैकल्पिक मार्गमार्फत सडक सञ्जालमा जोडिएको छ ।
सडक डिभिजन नुवाकोटका प्रमुख बद्रीप्रसाद शर्माले रसुवा र धादिङका दुवै सदरमुकामलाई सडक सम्पर्कमा ल्याईसकेको जानकारी दिए। उनकाअनुसार टोखा-गुर्जे-छहरे हुँदै बाहुनेबेसी, समरथली र जिरो किलोमिटरबाट पासाङल्हामु मार्गमार्फत रसुवातर्फको वैकल्पिक सडक सञ्चालनमा ल्याइएको हो ।
उक्त मार्गमा साना सवारी सञ्चालनमा आएका छन् भने ठूला सवारीसमेत सञ्चालन गर्न अर्को वैकल्पिक मार्ग तयार पार्ने काम भइरहेको उनले जानकारी दिए ।
धादिङ सदरमुकाम धादिङबेसीसँगको यातायात सम्पर्क पनि वैकल्पिक मार्गबाट जोडिएको छ । उनका अनुसार मलेखु-धादिङबेसी सडकअन्तर्गत फुर्केखोलाको त्रिशूली पुलमा क्षति पुगेपछि मासटार र गल्छीका सुरक्षित रहेका पुल प्रयोग गरी त्रिशूलीको दाहिने किनार हुँदै गजुरीटारबाट धादिङबेसी पुग्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको हो ।
सडक डिभिजन नुवाकोटका कार्यक्षेत्रमा पर्ने नुवाकोट, धादिङ र रसुवा जिल्लाका धेरै सडक र पुलमा क्षति पुगेको उनले बताए । गल्छी आयोजनाअन्तर्गतका सडक तथा त्रिशूली नदीमा रहेका पुलमा ठूलो क्षति पुगेपछि नियमित यातायात सञ्चालन प्रभावित भएको हो ।
उनले भने, ‘बाढीको कारण रसुवा र धादिङ सदरमुकाम सडक सम्पर्क विच्छेद भएका थिए । त्यसलाई हामीले अहिले अन्य वैकल्पिक बाटोबाट सडक सञ्जालमा जोडिसकेका छौँ । रसुवाको लागी टोखा गुर्जे छहरे बाटोबाट बाहुनेबेसी हुँदै समरथली हुँदै त्यसपछि जिरो किलोमिटर रसुवा गएर अनि पासाङ्लामु हुँदै जाने बाटो सुचारु भएको छ । साना गाडी त्यसमा सुचारु भए, अलि ठूला गाडी पनि जाने अर्को वैकल्पिक बाटो पत्ता लगाएर त्यसमा हामी काम गर्दैछौँ । धादिङ सदरमुकाम धादिङबेसी जान मासटारबाट पारीपट्टी त्रिसुलीको दाहिने किनारमा गएर गजुरिटार हुँदै जाने बाटो हामीले सञ्चालनमा ल्याइसकेका छौँ । रसुवा पनि सामाजिक सडक सञ्चालनमा जोडियो र धादिङ सदरमुकाम पनि सडक सञ्चालनमा जोडिएको स्थिति छ ।’
बाढीले नुवाकोटमा त्रिशूली नदी वारिपारिका सडक सम्पर्कमा समेत असर पारेको छ । नदी पार गर्ने पुलहरूमा क्षति पुगेपछि गल्छीदेखि त्रिशूलीको दाहिने किनार हुँदै कोलोनी र त्रिशूलीसम्म पुग्ने अर्को वैकल्पिक मार्ग खोल्ने काम भइरहेको डिभिजन प्रमुख शर्माले जानकारी दिए ।
त्रिशूली र देवीघाटमा बेलीब्रिज राख्नेगरि नेपाली सेनासँग समन्वय भइरहेको पनि उनले बताए। प्रदेश सरकार, स्थानीय तह तथा सडक विभागका अन्य निकायसँगको समन्वयमा सकेसम्म छिटो यातायात सेवा सञ्चालन गर्ने प्रयास भइरहेको उनको भनाई छ । बाढीका कारण सडक डिभिजन नुवाकोटका कर्मचारी तथा भौतिक संरचनामा समेत क्षति पुगेको उनले जानकारी दिए ।






