काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच मंगलबार भेटवार्ता भएको छ।
सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा भोटेकोशी बाढीबाट भएको क्षति तथा विपद्पछिको खोज, उद्धार, राहत र पुनर्निर्माणमा नेपाल–चीन सहकार्यका विषयमा छलफल भएको हो।
भेटमा राजदूत माओमिङले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै खोज तथा उद्धारदेखि पुनर्निर्माणसम्म चीन नेपालको साथमा रहेको बताएका छन्। नेपालको आवश्यकताअनुसार जुनसुकै ढङ्गबाट सहयोग गर्न चीन तयार रहेको उनको भनाइ छ।
विपद्लगत्तै चीनले उद्धारकर्मी, डीएनए विशेषज्ञलगायत आवश्यक सहयोग उपलब्ध गराइरहेको उल्लेख गर्दै राजदूत माओमिङले आवश्यकता रहेसम्म सहयोग जारी रहने बताएका छन्।
सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेका छन्। नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा चीनको आर्थिक तथा प्राविधिक सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले आगामी दिनमा थप सहकार्यका लागि आग्रह गरेका छन्।






