काठमाडौँ । रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावितका लागि काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाको कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । निर्णयअनुसार गाउँपालिकाको विपद् कोषबाट १५ लाख रुपैयाँ र जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीले प्राप्त गर्दै आएको सेवा-सुविधा तथा पारिश्रमिकबाट २० लाख रुपैयाँ संकलन गरी कोषमा जम्मा गरिनेछ ।
भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएकोप्रति गाउँपालिकाले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
गाउँपालिकाले बाढीपछि बेपत्ताहरूको खोज तथा उद्धारका लागि आफ्नो तर्फबाट आवश्यक सक्रियता जारी राखेको जनाएको छ ।
यसैबीच, विपद्को अवस्थालाई ध्यानमा राख्दै चालु आर्थिक वर्षमा स्वीकृत तीजलगायतका कार्यक्रमसमेत स्थगित गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।







