काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सागर ढकालले बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको उद्धार अभियानलाई लिएर पार्टीका वरिष्ठ नेताहरूले समेत सञ्चारमाध्यममा आएका नकारात्मक धारणालाई पछ्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
अर्का सांसद श्रीराम न्यौपानेसँगै काठमाडौँ फर्किने क्रममा आफ्नो धारणा सार्वजनिक गर्दै ढकालले उद्धारका क्रममा आफूहरूले सक्दो प्रयास गरेको बताएका छन्। मानवीय दृष्टिले प्रयास आंशिक रूपमा सफल भए पनि प्राविधिक तथा इन्जिनियरिङ दृष्टिकोणबाट देशले महत्वपूर्ण उपलब्धि हासिल गरेको उनको दाबी छ।
ढकालका अनुसार स्थलगत रूपमा उद्धार अभियानमा संलग्न टोलीलाई विभिन्न पक्षबाट सहयोग प्राप्त भए पनि सञ्चारमाध्यममा नकारात्मक धारणा फैलिँदा काम गर्ने वातावरणमा केही हदसम्म असर परेको थियो। पार्टीका वरिष्ठ नेतासमेत त्यस्ता सञ्चार सामग्रीको प्रभावमा परेको उनको गुनासो छ।
रास्वपाले उद्धारस्थलमा उपस्थित सांसदका कारण प्रतिकार्यमा अवरोध हुने अवस्था देखिएमा फर्किन निर्देशन दिएको विषयप्रति समेत ढकालले असन्तुष्टि जनाएका हुन्।
उनले उद्धार अभियानमा थप २४ घण्टाको ढिलाइ भएको भए परिणाम प्रतिकूल हुनसक्ने अवस्था रहेको उल्लेख गर्दै अन्तिम समयमा उद्धार सफल हुनुलाई महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्।
देश निर्माणको उद्देश्यसहित सकारात्मक सोचका साथ काम गर्नुपर्नेमा जोड दिँदै ढकालले स्थलगत क्षेत्रमा रातदिन खटिने व्यक्तिको प्रयासलाई बाहिरबाट बसेर उपहास नगर्न आग्रह गरेका छन्। उद्धार अभियानमा सहयोग गर्ने सबैप्रति उनले धन्यवादसमेत व्यक्त गरेका छन्।






