काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डीपी अर्यालको नाम, पद र प्रतिष्ठाको अनधिकृत प्रयोग गरी गैरकानुनी गतिविधिमा संलग्न एक व्यक्तिलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।
सभामुख सचिवालयले सार्वजनिक गरेको जानकारी अनुसार पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ। सचिवालयले नियन्त्रणमा लिइएका व्यक्तिको परिचय र उनी संलग्न भनिएको गतिविधिको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन।
सचिवालयले घटनालाई लिएर चासो तथा चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिएको छ। साथै, घटनासम्बन्धी अपुष्ट सूचना तथा भ्रमपूर्ण प्रचारमा नपर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।
“सम्माननीय सभामुख डीपी अर्यालज्यूको नाम, पद र प्रतिष्ठाको अनधिकृत प्रयोग गरी गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिलाई नेपाल प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइसकेको छ,” सचिवालयले भनेको छ।






