काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रकाश सिंह कार्कीले बजार अनुगमन र कारबाहीको प्रक्रिया प्रभावकारी हुन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।
काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको रसुवा बाढीपछिको आपूर्ति तथा मूल्य शृङ्खलामा परेको प्रभाव र देखिएको चुनौती विषयक कार्यक्रममा बोल्दै सांसद कार्कीले सरकारी नियामक निकायहरूको उपस्थिति र सक्रियता फितलो भएको टिप्पणी गरेका हुन् ।
चाडपर्वको समयमा मात्र बजार अनुगमन गर्ने प्रवृत्तिको चर्चा गर्दै उनले उपभोक्ताहरू वर्षैभरि विभिन्न समस्या र मारमा परिरहेकाले अनुगमनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। सांसद कार्कीले मुलुकको व्यापार घाटा कम गर्न र एलपी ग्यासको आयात प्रतिस्थापन गर्न विद्युतीय चुल्हो (इण्डक्सन)को प्रयोगलाई बढावा दिनुपर्ने बताए । नेपालमा पर्याप्त विद्युत् उत्पादन भई निर्यातसमेत भइरहेको अवस्थामा ग्यासको आयात घटाउन सरकारले विद्युतीय उपकरणको प्रयोगमा सहुलियत र प्रोत्साहन दिनुपर्ने उनको तर्क छ ।
उनले भने, ‘हामीले चाडपर्वलाई मात्र आधार बनायौँ, तर उपभोक्तालाई अन्य समयमा पनि उत्तिकै मार परिरहेको छ । सरकारका सम्बन्धित निकायहरू अनुगमन र दोषीमाथि कारबाही गर्ने मामिलामा निकै कमजोर देखिएका छन् ।’ ग्यास वितरण प्रणालीमा देखिएका प्राविधिक र व्यावहारिक समस्याबारे बोल्दै उनले फरक–फरक ब्राण्डका सिलिण्डरका कारण उपभोक्ताले सास्ती खेप्नुपरेको बताए।
ग्यासको तरल पदार्थ (लिक्विड) एउटै गुणस्तरको भए पनि धेरै ब्राण्ड हुँदा एउटा सिलिण्डरबाट अर्कोमा सट्टापट्टा गर्दा उपभोक्ताले प्रतिसिलिण्डर ५ देखि ६ सय रुपैयाँ अतिरिक्त भार व्यहोर्नुपरेको उनले उल्लेख गरे । विगतको संकटपूर्ण अवस्था सम्झिँदै उनले बजारमा ग्यासको अभाव हुँदा उपभोक्ताले एउटा सिलिण्डरका लागि ७ हजार ५ सय रुपैयाँसम्म तिर्नुपरेको तथ्य पेस गर्दै यस्ता समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक रहेको बताए ।






