नारायणगढ (चितवन) । चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जङ्गलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र मिनी ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको लुप्र०१-००१ख ००४५ नम्बरको मिनी ट्रक र भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना३७प ७०९६ नम्बरको स्कुटर एकापसमा ठोक्किएका थिए ।
दुर्घटनामा स्कुटर चालक राप्ती नगरपालिका-७ निवासी ३८ वर्षीय राजकुमार दर्जी गम्भीर घाइते भई उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर लगिएकामा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवले जानकारी दिए।
प्रहरीले मिनी ट्रक र चालक रुपन्देहीको गैडहवा गाउँपालिका-७ निवासी ४० वर्षीय रामेश्वर खरविन्द्रलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।






