डडेल्धुरा । भागेश्वर गाउँपालिकाले २३औँ निजामती सेवा दिवसका अवसरमा आयोजना गर्ने भनिएको कर्मचारी पुरस्कार तथा सम्मान कार्यक्रमको रकम बाढीपीडितको उद्धार, राहत तथा पुनः स्थापनाका लागि उपलब्ध गराएको छ।
गाउँपालिकाले उक्त कार्यक्रमका लागि एक लाख आठ हजार एक सय रुपैयाँ खर्च प्रस्ताव गरेको थियो। नेपाल-चीन सीमा क्षेत्र रसुवागढीमा आएको भीषण बाढीपछि उत्पन्न विपद्को अवस्थालाई ध्यानमा राख्दै कार्यक्रम स्थगित गरी रकम राहत कोषमा जम्मा गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार प्रस्तावित कार्यक्रम खर्च प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा विद्युतीय माध्यमबाट जम्मा गरिएको हो।
गाउँपालिकाले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र प्रसाद ओझाले रकम जम्मा गरिएको विवरणसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेका छन्।







