काठमाडौँ । नेपाल प्रहरीले भोटेकोशीमा आएको बाढीले पुर्याएको जनधनको क्षतिको विषयमा अपमानजनक भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने एक युवालाई पक्राउ गरेको छ ।
प्रहरीको साइबर ब्युरोले बाढीपीडितको अपमान गरेर भिडियो बनाउने बैतडी सुर्नया गाउँपालिका–७ घर भई हाल काठमाडौँको बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडैलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेकाले पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका मडैमाथि जिल्ला अदालत काठमाडौँबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता गिरीले बताए ।






