काठमाडौँ। जेन जेड आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा जेन जेड शहीद कल्याणकारी समाजले काठमाडौँको नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा स्मृति कार्यक्रम आयोजना गरेको छ।
जेन जेड आन्दोलनको पहिलो वार्षिकीका अवसरमा समाजले आयोजना गरेको कार्यक्रममा सरकारका विभिन्न मन्त्री तथा सांसदहरूको सहभागिता रहेको छ। कार्यक्रममा आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको स्मरण गर्दै उनीहरूको योगदानप्रति सम्मान व्यक्त गरिएको छ।
स्मृति कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल, स्वास्थ्य मन्त्री निशा मेहता, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन तथा कृषि मन्त्री गीता चौधरीलगायत मन्त्रीहरूको उपस्थिति रहेको छ।
गत वर्ष भदौ २३ गते काठमाडौंमा भएको जेन जेड प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो। उक्त घटनाको विरोधमा भदौ २४ गते देशका विभिन्न स्थानमा प्रदर्शन भएको थियो।
दुई दिनसम्म चलेको आन्दोलनका क्रममा सुरक्षाकर्मी तथा प्रदर्शनकारीसमेत गरी ७६ जनाको मृत्यु भएको थियो। आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा आगजनी तथा क्षतिका घटना पनि भएका थिए।
सरकारले भदौ २३ गतेलाई ‘जेन जेड शहीद दिवस’ घोषणा गरी सार्वजनिक बिदा दिएको अवस्थामा समाजले शहीदहरूको सम्झनामा कार्यक्रम आयोजना गरेको हो।
पुरानो संसद् भवन परिसरमा आयोजित कार्यक्रममार्फत जेन जेड शहीदहरूको स्मरण, सम्मान तथा उनीहरूको योगदानलाई संस्थागत रूपमा सम्झने प्रयास गरिएको आयोजक पक्षले जनाएको छ।






