काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा एक महिलाले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेपछि प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याएको छ।
माइतीघर मण्डलामा दीप प्रज्वलन कार्यक्रम चलिरहेका बेला उक्त घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
प्रहरीका अनुसार गोर्खा घर भएकी ३० वर्षीया लक्ष्मी बस्नेतले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेकी थिइन्। घटना लगत्तै प्रहरीले उनको शरीरमा लागेको आगो निभाएर उद्धार गरेको थियो।
उद्धारपछि उनलाई तत्काल उपचारका लागि वीर अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण लिने काम भइरहेको प्रहरी उपरीक्षक थापाले बताएका छन्।






