२३ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड भन्दै पालिका पुगेका स्थानीय युवाले लगाए ताला, क्वार्टरमै थुनिए प्रमुख प्रशासकीय अधिकृत र लेखाका कर्मचारी

अ+ अ-

काठमाडौँ । कालिकोटको नरहरिनाथ गाउँपालिकामा जेन जेडका युवा भन्दै आएका केही स्थानीयले कार्यालयको मूल गेटमा ताला लगाएपछि प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर नेपालीसहित कर्मचारी केही घण्टा कार्यालय भवनभित्रै थुनिएका छन्। पछि प्रहरी पुगेर ताला खोलेको प्रमुख प्रशासकीय अधिकृत नेपालीले प्रशासनलाई बताएका छन्।

कालिकोटका प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले पनि घटनाको पुष्टि गर्दै केही स्थानीय युवाले गाउँपालिका कार्यालयमा ताला लगाएको र पछि सुरक्षाकर्मी पुगेर ताला खोलेको प्रशासनलाई बताए। घटनामा संलग्न युवालाई प्रहरीले नियन्त्रणमा लिएको उनको भनाइ छ।

सार्वजनिक बिदाका दिन बजेटसम्बन्धी कामका लागि कर्मचारी कार्यालयमा रहेका बेला घटना भएको हो। कार्यालय भवनको माथिल्लो तलामा कर्मचारीको क्वार्टरसमेत रहेकाले प्रमुख प्रशासकीय अधिकृत नेपाली त्यहीँ थिए।

नेपालीका अनुसार बिहान करिब ११ बजेतिर ‘जेनजी युवा’ भन्दै तीन जना स्थानीय युवा उनी बसेको क्वार्टरसम्म पुगेका थिए। सुरुमा उनीहरूले गाउँपालिकाका विषयमा छलफल गर्न चाहेको बताएका थिए।

‘तीन जना स्थानीय साथीहरू आउनुभएको थियो। म क्वार्टरमै थिएँ। ढोका ढकढक गरेपछि बाहिर निस्किएँ। उहाँहरूले “सरसँग कुरा गरौँ भनेर आएको” भन्नुभयो,’ नेपालीले प्रशासन सिंहदरबार विशेष ब्युरोसँग भने।

नेपाली भदौ २ गते मात्रै नरहरिनाथ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर भएका हुन्। आफू नयाँ भएकाले स्थानीय अवस्था र उनीहरूले उठाएका विषयबारे विस्तृत जानकारी नभएको उनले ती युवालाई बताएका थिए।

‘म भर्खर आएको हुँ, असन्तुष्टि अध्यक्षसहित जनप्रतिनिधिसँग राख्नुस् भनेँ’
कुराकानीका क्रममा युवाहरूले पालिकाका योजना, सडकसहित विभिन्न विषयमा असन्तुष्टि व्यक्त गरेको नेपालीले बताए। उनीहरूले गाउँपालिका अध्यक्षलाई खोजेका थिए।

तर अध्यक्ष पालिकाबाहिर रहेकाले फर्किएपछि जनप्रतिनिधिसँग बसेर आफ्ना माग र असन्तुष्टि राख्न आफूले आग्रह गरेको नेपालीको भनाइ छ।

‘मैले उहाँहरूलाई म भर्खर आएको हुँ भनेँ। तपाईँहरूको के असन्तुष्टि हो, के माग हो, अध्यक्षज्यूसहित जनप्रतिनिधि आएपछि उहाँहरूसँग राख्नुस् भनेँ,’ नेपालीले प्रशासनसँग भने, ‘हामी कर्मचारीले कार्यान्वयन गर्न मिल्ने विषय कानुनबमोजिम गर्ने हो भनेर सम्झाएँ।’

नेपालीका अनुसार छलफलका क्रममा युवाहरूले पालिकाका विभिन्न योजना तथा सडकका विषय उठाएका थिए। उनीहरू आफूलाई व्यक्तिगत रूपमा लक्षित गरेर आएको भन्दा पनि गाउँपालिका अध्यक्षलाई खोज्दै आएको आफ्नो बुझाइ रहेको उनले बताए।

प्रमुख जिल्ला अधिकारी भट्टराईको प्रारम्भिक बुझाइ पनि प्रमुख प्रशासकीय अधिकृतलाई व्यक्तिगत रूपमा लक्षित गरेर घटना भएको नभई स्थानीय युवाले गाउँपालिका अध्यक्ष नियमित रूपमा कार्यालयमा नआउने र नबस्ने विषयमा असन्तुष्टि जनाउँदै तालाबन्दी गरेको प्रारम्भिक जानकारी आएको प्रशासनलाई जानकारी दिएका छन् । 

‘खासमा स्थानीय खालकै हुन्। आफूलाई जेन जेडका युवा भन्ने गरेका रहेछन्,’ प्रजिअ भट्टराईले प्रशासनसँग भने, ‘अध्यक्ष नियमित बसेनन् भन्ने कुरालाई लिएर आएको भन्ने बुझिएको छ।’

‘ताला लगाएर जान्छौँ भने, मैले त्यसो नगर्नुस् भनेँ’
केही बेरको कुराकानीपछि युवाहरूले कार्यालयमा ताला लगाएर जाने बताएका थिए। कार्यालयभित्र कर्मचारी रहेको र भोलिपल्ट सेवाग्राहीलाई सेवा दिनुपर्ने भन्दै आफूले त्यसो नगर्न पटक–पटक आग्रह गरेको नेपाली बताउँछन्।

‘उहाँहरूले ताला लगाएर जान्छौँ भन्नुभयो। मैले “त्यस्तो नगर्नुस्, हामी भित्रै छौँ। भोलि सेवाग्राही आउँछन्, ताला लगाइदिनुभयो भने सेवा कसरी दिने ? पछि आएर सल्लाह गर्न सकिन्छ” भनेँ,’ नेपालीले भने।

तर आफ्नो आग्रह नसुनी बाहिर निस्किएका युवाले कार्यालयका प्रवेशद्वारमा ताला लगाएको उनले बताए। ‘मलाई बाहिर निस्किनुस् पनि भनेनन्, केही भनेनन्। हामी भित्रै भएको अवस्थामा ताला लगाएर जानुभयो,’ उनले भने।

त्यस बेला लेखातर्फका कर्मचारीसहित अन्य कर्मचारीसमेत कार्यालय भवनमै रहेको नेपालीले जानकारी दिए।

‘एक-दुई घण्टामा खुल्ला भन्ने ठानेँ, ३ बजेसम्म नखुलेपछि झसङ्ग भएँ’
घटना बिहान करिब ११ देखि साढे ११ बजेतिरको भएको नेपालीले बताए। सुरुमा स्थानीय व्यक्तिले नै युवाहरूलाई सम्झाई बुझाइ गरेर ताला खुलाउने आश्वासन दिएका कारण तत्काल प्रहरी प्रशासनलाई खबर नगरेको उनको भनाइ छ।

‘यहाँका स्थानीय साथीहरूले चिनेकै भाइहरू हुन्, एक-दुई घण्टामा सम्झाउँछौँ भन्नुभयो। मैले पनि स्थानीय कुरा हो, सम्झाउँदा मान्लान् भनेर तत्काल कतै खबर गरिनँ,’ उनले भने।

तर दिउँसो करिब ३ बजेसम्म पनि ताला नखुलेपछि अवस्था सामान्य नरहेको महसुस भएको उनले बताए। ‘तीन बजेसम्म भइसक्यो, ताला खुल्ने केही भएन। त्यसपछि चाहिँ मलाई झसङ्ग भयो,’ नेपालीले प्रशासनसँग भने।

त्यसपछि आफूले गाउँपालिका अध्यक्षलाई घटनाबारे जानकारी गराएको उनले बताए। अध्यक्षले घटनाबारे बुझ्ने बताएपछि उनी कार्यालयको माथिल्लो तलास्थित क्वार्टरमै बसेका थिए।

प्रहरी पुग्यो, ताला खुल्यो: युवाहरू नियन्त्रणमा
पछि प्रहरी टोली गाउँपालिका कार्यालय पुगेको नेपालीले बताए। प्रहरीले बाहिरबाट लगाइएको ताला खोलेपछि कार्यालय भवनभित्र रहेका कर्मचारीको आवतजावत खुला भएको थियो।

‘प्रहरी साथीहरू आएर ताला खोल्नुभयो। ती साथीहरूलाई नियन्त्रणमा लिएका छौँ, आवश्यक सोधपुछ गर्छौँ भन्नुभएको छ,’ नेपालीले प्रशासनसँग भने।

प्रमुख जिल्ला अधिकारी भट्टराईले पनि घटनामा संलग्न युवाहरूलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको बताए।

‘पछि गएर ताला खोलिएको छ। उनीहरूलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको जानकारी आएको छ,’ भट्टराईले प्रशासनसँग भने।

भट्टराईका अनुसार घटनापछि थप व्यक्ति आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय सुरक्षा निकायलाई समेत सतर्क बनाइएको छ।

उनले घटनामा संलग्न दुई–तीन जना युवाले मदिरा सेवन गरेको भन्ने प्रारम्भिक जानकारी आफूले पाएको पनि बताए। 

घटनापछि जिल्ला प्रशासन कार्यालयबाटसमेत आफूलाई फोन आएको र घटनाबारे जानकारी लिएको नेपालीले बताए।

सुरुमा घटना स्थानीय स्तरमै संवादबाट समाधान हुने अपेक्षा गरेकाले आफूले जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी नगराएको प्रमुख प्रशासकीय अधिकृतको भनाइ छ। र, गाउँपालिका अध्यक्षलाई जानकारी गराएपछि थप प्रशासनसँगको समन्वयमा प्रहरी पठाउने र ताला खोल्ने काम भएको कर्मचारीहरूको भनाई छ । 

प्रमुख प्रशासकीय अधिकृत नेपाली र प्रमुख जिल्ला अधिकारी भट्टराई दुवैको भनाइअनुसार घटनाको प्रारम्भिक कारण प्रमुख प्रशासकीय अधिकृतप्रतिको व्यक्तिगत असन्तुष्टिभन्दा गाउँपालिका अध्यक्षको उपस्थितिसँग सम्बन्धित देखिएको छ।

तर कार्यालयभित्र कर्मचारी रहेको जानकारी हुँदाहुँदै बाहिरबाट ताला लगाइएपछि आफ्नो सुरक्षाबारे समेत सोच्नुपर्ने अवस्था आएको कर्मचारीहरूको भनाइ छ।

प्रहरीले ताला खोलेपछि पनि नेपाली कार्यालय भवनकै माथिल्लो तलामा रहेको क्वार्टरमा बसेका थिए।

‘अहिले म क्वार्टरमै छु। बाहिर खासै निस्किएको छैन। यस्तो घटना भइसकेपछि सुरक्षाको कुरा पनि आउँछ,’ उनले प्रशासनसँग भने।

भदौ २ गते मात्रै हाजिर भएका थिए नेपाली
नेपाली भदौ २ गते मात्रै नरहरिनाथ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर भएका हुन्। नयाँ कार्यस्थलमा पुगेको छोटो समयमै कार्यालय भवनभित्र रहेका बेला बाहिरबाट ताला लगाइएको घटना सामना गर्नुपरेको उनले बताए।

बिदाको दिन भए पनि पालिकाको बजेट इन्ट्रीलगायत काम भइरहेकाले लेखातर्फका कर्मचारीसहितको टोली कार्यालयमै रहेको उनको भनाइ छ।

‘बजेटको काम भइरहेको छ। बजेटको काम सकेर योजना कार्यान्वयनमा लैजानुपर्ने भएकाले साथीहरू पनि काममै हुनुहुन्थ्यो,’ नेपालीले भने।

प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार घटनापछि तत्कालको अवस्था नियन्त्रणमा आएको छ। सुरक्षा निकायलाई परिस्थितिबारे जानकारी गराइएको छ भने घटनाको थप विवरण बुझ्ने काम भइरहेको छ।

0 Comments