काठमाडौँ। सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साललाई नियुक्त गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै आयोगको अध्यक्षमा भक्तपुरका डा. लम्साललाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिएका हुन्।
मन्त्रिपरिषद्ले आयोगको सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौँ विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ।
सरकारले शिक्षक सेवा आयोगको नेतृत्व तथा सदस्य पदमा नयाँ नियुक्ति गरेसँगै आयोगका नियमित कामकारबाही तथा शिक्षकसम्बन्धी सेवा प्रक्रियालाई थप प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारीसमेत नवनियुक्त पदाधिकारीमाथि आएको छ।
प्रवक्ता पोखरेलका अनुसार मन्त्रिपरिषद् बैठकले आयोगका अध्यक्ष, सदस्य र महिला सदस्य नियुक्त गर्ने निर्णय गरेको हो।






