काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित धादिङ र रसुवाका विभिन्न क्षेत्रमा राष्ट्रिय युवा परिषदमा आबद्ध युवाहरू राहत, सरसफाइ तथा मनोसामाजिक सहयोगमा परिचालित भएका छन्।
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्का युवाहरूले प्रभावित बस्ती तथा होल्डिङ सेन्टरमा रहेका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउनुका साथै बाढीबाट थुप्रिएको लेदो हटाउने र सार्वजनिक स्थल सरसफाइ गर्ने काम गरिरहेका छन्।
धादिङको गजुरी-जरेखेतस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशन, गजुरी गाउँपालिका-५ को होल्डिङ सेन्टर तथा स्थानीयका घरमा जमेको लेदो माटो सुरक्षाकर्मी र स्थानीय बासिन्दासँगको समन्वयमा हटाइएको छ। प्रभावित बालबालिका तथा महिलालाई मनोसामाजिक परामर्शसमेत दिइएको छ।
रसुवाको उत्तरगया गाउँपालिकाका विभिन्न होल्डिङ सेन्टरमा रहेका नागरिकका लागि खानेकुरा तथा आधारभूत सुविधाको व्यवस्थापनमा पनि परिषद्का युवाहरू संलग्न भएका छन्। होल्डिङ सेन्टरमा रहेका बालबालिकाको हेरचाह र उनीहरूको दैनिक गतिविधिलाई सहज बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ।
भिमसेनस्थान होल्डिङ सेन्टरमा रहेका ५४ जनामध्ये दुईजना अभिभावकविहीन बालबालिका छन्। उनीहरूका लागि खेलकुद, चित्रकला तथा आर्ट थेरापीको व्यवस्था गरिएको छ।
श्री शिवालय आधारभूत विद्यालयमा रहेको होल्डिङ सेन्टरमा ४७ जना आश्रित रहेकामा २४ जना बालबालिका छन्। परिवारका सदस्य गुमाएका बालबालिकालाई लक्षित गर्दै उनीहरूको मानसिक तथा भावनात्मक अवस्था सहज बनाउन खेलकुदलगायत गतिविधि सञ्चालन गरिएको छ।
नीलकण्ठ होल्डिङ सेन्टरमा रहेका ३८ आश्रितमध्ये करिब २५ जना बालबालिका तथा शिशु छन्। त्यहाँ सामुदायिक भान्छा, विद्युत् तथा मोबाइल चार्जिङ र बालबालिकाका लागि खेलकुदको व्यवस्था मिलाइएको छ।
बाढीका कारण परिवारका सदस्य गुमाएका तथा आफन्त बेपत्ता भएका परिवारमा शोक, भविष्यप्रतिको चिन्ता, दु:स्वप्न र मानसिक तनावजस्ता समस्या देखिएपछि परिषद्को टोलीले प्रभावित नागरिकलाई मनोसामाजिक परामर्शसमेत प्रदान गरिरहेको छ।
बाढीपछिको तत्कालीन राहतसँगै प्रभावित नागरिकको दैनिक जीवन सहज बनाउने, बालबालिकाको हेरचाह तथा मानसिक स्वास्थ्यमा सहयोग पुर्याउने र अस्थायी बसोबासस्थलको वातावरण व्यवस्थापनमा युवाहरूलाई परिचालन गरिएको परिषद्ले जनाएको छ।






