काठमाडौँ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुईवटा छुट्टाछुट्टै प्रतिवेदन पेस भएका छन्।
शुक्रबार बसेको कार्यदलको बैठकमा पार्टी उपाध्यक्ष एवं कार्यदल संयोजक रामबहादुर थापा र महासचिव शंकर पोखरेलले आ-आफ्नो प्रतिवेदन पेस गरेका हुन्।
दुवै प्रतिवेदन अध्ययन गरी समान धारणा निर्माण गर्ने र एकीकृत प्रतिवेदन तयार गरेर पार्टी सचिवालयमा पेस गर्ने निर्णय भएको एमाले उपमहासचिव तथा प्रवक्ता लेखराज भट्टले जानकारी दिए।
कार्यदलका सबै सदस्यलाई दुवै प्रतिवेदन उपलब्ध गराइएको छ। अध्ययनका लागि दुई दिन समय दिँदै बैठक आइतबारसम्म स्थगित गरिएको छ।
प्रतिवेदन तयार गर्ने जिम्मेवारीमा देखियो बुझाइको फरक
यसअघि महासचिव पोखरेललाई प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको थियो। महासचिवले तयार गरेको प्रतिवेदनलाई संयोजन तथा परिमार्जन गर्ने जिम्मेवारी कार्यदल संयोजक थापालाई दिइएको थियो।
तर, संयोजक थापाले समेत छुट्टै सुझावसहितको प्रतिवेदन प्रस्तुत गरेपछि कार्यदलमा दुईवटा दस्तावेज आएका हुन्।
‘महासचिवलाई प्रतिवेदन तयार गर्ने र संयोजकलाई त्यसको संयोजन तथा परिमार्जन गर्ने जिम्मेवारी दिइएको थियो,’ प्रवक्ता भट्टले भने, ‘त्यसमा केही बुझाइको फरक देखियो। संयोजकबाट पनि छुट्टै प्रतिवेदन आएपछि दुवै दस्तावेज अध्ययन गरेर एकरूपता दिने निर्णय भएको छ।’
उनका अनुसार कार्यदलका सदस्यहरूले शुक्रबार र शनिबार प्रतिवेदन अध्ययन गर्नेछन्। आइतबार बस्ने बैठकले दुवै प्रतिवेदनका विषयवस्तु समेटेर साझा दस्तावेज तयार गर्नेछ।
‘पार्टीभित्र ठूलो विवाद छैन’
प्रवक्ता भट्टले दुईवटा प्रतिवेदन आए पनि यसलाई पार्टीभित्रको ठूलो विवादका रूपमा बुझ्न नहुने बताए। केही विषयको बुझाइमा देखिएको अन्तरका कारण छुट्टाछुट्टै दस्तावेज आएको उनको भनाइ छ।
‘पुनर्गठन’लाई मूल नेतृत्व परिवर्तनका रूपमा बुझ्ने कि निर्वाचन समीक्षा गर्दै समग्र पार्टी संगठनको पुनर्गठन गर्ने भन्ने विषयमा केही फरक धारणा देखिएको उनले जानकारी दिए।
संयोजक थापाले पेस गरेको दस्तावेजलाई महासचिवको प्रतिवेदनभन्दा पूर्णत: अलग प्रतिवेदनका रूपमा बुझ्न नहुने भट्टको भनाइ छ। महासचिवले समेटेका विषयमा केही सुझाव र थप विषय राख्न संयोजकले अलग दस्तावेज तयार गरेको उनले बताए।
महासचिवको प्रतिवेदनमा ओलीको नेतृत्व परिवर्तन प्रस्ताव छैन
प्रवक्ता भट्टले महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउनुपर्ने प्रस्ताव नरहेको स्पष्ट पारे।
आफूले महासचिवको प्रतिवेदन अध्ययन गरेको उल्लेख गर्दै उनले त्यसमा मूल नेतृत्व परिवर्तन गर्ने विषय समावेश नभएको बताए।
‘प्रतिवेदनमा नेतृत्व परिवर्तन गरेर जानुपर्छ भन्ने विषय छैन,’ उनले भने, ‘निर्वाचनको केही समीक्षा गरिएको छ र तल्ला तहबाट आएका सुझावलाई जस्ताको तस्तै समेटिएको छ।’
केन्द्रीय कमिटीमा एउटै प्रतिवेदन लगिने
कार्यदलमा प्रस्तुत दुईवटा दस्तावेजलाई छुट्टाछुट्टै रूपमा केन्द्रीय कमिटीमा नलगिने एमालेले जनाएको छ।
दुवै दस्ताबेजका विषयलाई समेटेर तयार पारिने एकीकृत प्रतिवेदन पहिले पार्टी सचिवालयमा पेस गरिनेछ। सचिवालयबाट पारित भएपछि एउटै प्रतिवेदन केन्द्रीय कमिटीमा लैजाने तयारी छ।






