काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो भन्ने रामबाबु महतो कोइरीसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोप पत्र दायर गरेको छ।
आयोगले तत्कालीन इन्जिनियर महतो, उनकी पत्नी माला कुमारी महतो, माला कुमारीकी बहिनी रीना कुशवाहा र उनका पति कृष्णप्रसाद मेहताविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।
रामबाबु र माला कुमारीविरुद्ध चार करोड ४८ लाख ७९ हजार ८४१ रुपैयाँ ९८ पैसा बिगो कायम गरिएको छ। रीना र कृष्णप्रसादलाई भने मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा विचाराधीन
आयोगले रामबाबुविरुद्ध यसअघि २०८२ जेठ २६ गते गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
उक्त मुद्दामा आयोगले चार करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ ८८ पैसा बिगो कायम गरेको थियो। सोही गैरकानुनी सम्पत्ति आर्जनलाई सम्बद्ध कसुर मानेर थप अनुसन्धान गर्दा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर देखिएको आयोगको दाबी छ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ जारी हुनुअघि आर्जन भएको देखिएको १९ लाख १५ हजार ५१४ रुपैयाँ ८६ पैसा भने आयोगले हालको बिगोमा समावेश गरेको छैन।
उक्त रकम घटाउँदा बाँकी रहेको चार करोड ३९ लाख ८१ हजार ८८८ रुपैयाँ १४ पैसा र स्रोत पुष्टि नभएको थप आठ लाख ९७ हजार ९५३ रुपैयाँ ८४ पैसा जोडेर कुल बिगो निर्धारण गरिएको आयोगले जनाएको छ।
बैंक, सहकारी र जग्गा कारोबारबाट रकम शुद्धीकरण गरेको आरोप
आयोगका अनुसार रामबाबुले भ्रष्टाचारबाट आर्जित रकम आफ्नो तथा परिवारका सदस्यको नाममा रहेका बैंक र सहकारी खातामा जम्मा गरेका थिए।
उनले पत्नी, साली र साढुभाइमार्फत जग्गा खरिदमा लगानी गरेको, वास्तविक मूल्यभन्दा कम थैली देखाएको तथा नगद र बैंक चेकबाट मिश्रित रूपमा भुक्तानी गरेको आयोगको आरोप छ।
सहकारी ऋण, बैंक कर्जा र बैना कागज प्रयोग गरी रकमलाई विभिन्न तह र ढाँचामा कारोबार गरेको पनि आरोप पत्रमा उल्लेख छ। कसुरबाट प्राप्त रकमले खरिद गरिएको जग्गालाई वैध सम्पत्तिका रूपमा देखाएको आयोगको दाबी छ।
त्यस्तै, रकमलाई मुद्दती निक्षेपमा राखी ब्याज आम्दानीलाई वैध आयका रूपमा दाबी गर्ने कृत्रिम आर्थिक सामर्थ्य तयार गरेको आरोप लगाइएको छ।
रामबाबुले सम्पत्तिको वास्तविक स्रोत, स्वरूप र स्वामित्व लुकाउन तथा परिवर्तन गर्न तेस्रो पक्षका रूपमा साली रीना र उनका पति कृष्णप्रसादलाई प्रयोग गरेको आयोगको दाबी छ।
बिगोको दोब्बर जरिवाना र थप सजाय माग
आयोगले रामबाबुविरुद्ध चार करोड ४८ लाख ७९ हजार ८४१ रुपैयाँ ९८ पैसा बिगो कायम गरी त्यसको दोब्बर जरिवाना र कैद सजाय माग गरेको छ।
काठमाडौं महानगरपालिकाको इन्जिनियर पदमा कार्यरत रहँदा कसुर गरेको आरोपमा उनलाई थप १० प्रतिशत सजाय गर्न पनि माग गरिएको छ।
सम्पत्ति शुद्धीकरणमा प्रयोग भएको दाबी गरिएका जग्गा तथा अन्य सम्पत्ति जफत गर्नुपर्ने मागसमेत आरोप पत्रमा गरिएको छ।
पत्नीमाथि स्रोत लुकाउन सहयोग गरेको आरोप
रामबाबुकी पत्नी माला कुमारीले पतिले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति भएको जानकारी हुँदाहुँदै आफ्नो नाममा घरजग्गाको कारोबार र लगानी गरेको आयोगको आरोप छ।
अवैध सम्पत्तिको वास्तविक स्रोत लुकाउन, स्वरूप परिवर्तन गर्न र वैध सम्पत्तिका रूपमा देखाउन सहयोग गरेको भन्दै आयोगले उनीविरुद्ध पनि रामबाबुकै बराबर बिगो कायम गरेको छ।
माला कुमारीविरुद्ध चार करोड ४८ लाख ७९ हजार ८४१ रुपैयाँ ९८ पैसा बिगो, त्यसको दोब्बर जरिवाना र कैद सजाय माग गरिएको छ। उनको नाममा रहेका सम्बन्धित जग्गा जफत गर्न पनि आयोगले माग गरेको छ।
रीना र कृष्णप्रसादविरुद्ध मतियारको अभियोग
आयोगले रीना कुशवाहा र उनका पति कृष्णप्रसाद मेहतामाथि भ्रष्टाचारबाट आर्जित रकम जग्गा खरिदमा लगानी तथा हस्तान्तरण गर्न सहयोग गरेको आरोप लगाएको छ।
गैरकानुनी सम्पत्तिको स्रोत, स्वरूप र स्वामित्व लुकाउन तथा बदल्न सहयोग, सहजीकरण र सहभागिता जनाएको भन्दै उनीहरूलाई सम्पत्ति शुद्धीकरण कसुरको मतियार बनाइएको छ।
आयोगले दुवै जनालाई सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार मुख्य कसुरदार रामबाबुलाई हुने सजायको आधा सजाय गर्न माग गरेको छ।






