लेबनान । इजरायली सेनाले दक्षिणी लेबनानको अलि अल–ताहेर पहाडी क्षेत्रमा रहेको सशस्त्र समूह हेजबुल्लाहको दुई किलोमिटरभन्दा लामो भूमिगत सुरुङ सञ्जाल नियन्त्रणमा लिई पूर्ण रूपमा ध्वस्त पारेको दाबी गरेको छ ।
इजरायली सेनाका अनुसार उक्त भूमिगत पूर्वाधारभित्र कमान्ड कम्प्लेक्स, हतियार भण्डार, र लडाकुहरूको बसोबास स्थलहरू रहेका थिए । त्यहाँबाट इरानमा निर्मित दर्जनौँ रकेट, क्षेप्यास्त्र, ड्रोन, एन्टी–ट्याङ्क मिसाइल, सुरुङ खन्ने विस्फोटक पदार्थ तथा बारुदी सुरुङहरू बरामद गरी नष्ट गरिएको सेनाले जनाएको छ ।
विगत दुई दशक लगाएर इरानी आर्थिक सहयोगमा निर्माण गरिएको यो सुरुङ सञ्जालमा हेजबुल्लाहको ‘बद्र युनिट’ को प्रमुख कमान्ड सेन्टर समेत समावेश थियो। उक्त युनिटले लिटानी नदीको उत्तरदेखि सिडोन क्षेत्रसम्मको सुरक्षा र कमान्ड जिम्मेवारी सम्हाल्दै आएको थियो । यसैबीच, लेबनानको राष्ट्रिय समाचार संस्थाले बिहीबार नबातिह अल–फौका नजिकैको अलि अल–ताहेर डाँडामा इजरायली सेनाले ठूलो शक्तिशाली विस्फोट गराएको जनाएको छ ।
उक्त विस्फोटका कारण नबातिह र आसपासका क्षेत्रमा जमिन हल्लिनुका साथै भीषण आवाज सुनिएको थियो । इजरायलको सीमाबाट करिब १५ किलोमिटरको दूरीमा रहेको अलि अल–ताहेर पहाडी श्रृङ्खला दुई पक्षबीचको लडाइँको प्रमुख रणनीतिक केन्द्र बन्दै आएको छ ।
अमेरिकी मध्यस्थतामा युद्धविराम घोषणा भएपनि लेबनानी भूभागबाट इजरायली सेना फिर्ता नभएको भन्दै लेबनानले आपत्ति जनाउँदै आएको छ भने हेजबुल्लाहले यस घटनाबारे तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।






