काठमाडौँ । प्रहरीले काठमाडौँको ठमेलबाट स्रोत नखुलेको १३ लाख ७५ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भदौ २७ गते दिउँसो ३:३० बजेतिर काठमाडौँ महानगरपालिका-२६, ठमेलस्थित सञ्चयकोष नजिकको सडक खण्डबाट उक्त रकम बरामद गरिएको हो।
प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले केशरमहलबाट भीआईपी चोकतर्फ जाँदै गरेको बा.९७ प २६४४ नम्बरको स्कुटर जाँच गरेको थियो।
जाँचका क्रममा स्कुटर चालकको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ १३ लाख ७५ हजार फेला परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका-३ घर भई हाल काठमाडौँको ठमेल बस्ने अ वर्ष अन्दाजी २० का युवराज घतानी रहेका छन्।
प्रहरीले रकमसहित घतानीलाई नियन्त्रणमा लिएर हुण्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।
पाँच दिनको म्याद थप
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ परेका घतानीमाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।






