काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका एकदिवसीयतर्फका कप्तान सन्दीप लामिछानेले देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला क्रिकेट टोलीले हासिल गरेको सफलताले नेपालीमा खुशी ल्याउन सकेकोमा गर्व लागेको बताएका छन् ।
एसीसी प्रिमियर कपको उपाधि जितेर आइतबार राति स्वदेश फर्किएका उनले टोलीको सफलताका पछाडि खेलाडी मात्र नभई समर्थक र पर्दापछाडिका सबैको योगदान रहेको बताएका हुन् ।
शनिवार संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४४ रनले पराजित गर्दै नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्नुका साथै दोस्रो पटक एशिया कपमा स्थान पक्का गरेको थियो । यसअघि नेपाल सन् २०२३ मा पहिलोपटक एशिया कपमा छनोट भएको थियो । स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै कप्तान लामिछानेले पछिल्लो सफलतालाई नेपाली क्रिकेट सही दिशामा अघि बढिरहेको बताए।
लामिछानेले भने, ‘देश दु:खिरहेको बेला क्रिकेटको माध्यमबाट भए पनि खुशी दिन सकिएको छ । त्योभन्दा पनि नेपाल दु:खिरहेको बेला सबैले एक–अर्कालाई साथ दिइरहनुभएको थियो, त्यो निकै प्रशंसनीय थियो ।’ ओमानविरुद्धको सेमिफाइनलमा नेपाल १४७ रनमै अलआउट भएपछि पनि टोलीले आत्मविश्वास नगुमाएको लामिछानेले बताए।
उनले उक्त खेलमा आफ्नो आधारभूत क्षमतामा केन्द्रित हुँदै अन्तिम खेलजसरी खेल्ने रणनीति बनाएको बताए । नेपालले ओमानलाई केवल ६० रनमा अलआउट गर्दै सेमिफाइनलमा शानदार जित निकालेको थियो । लामिछानेकाअनुसार खेलाडीहरूले ‘आफ्नो देशका लागि वा जीवनकै अन्तिम खेल खेलेजसरी’ मैदानमा उत्रिने र प्रत्येक बलमा शतप्रतिशत प्रयास गर्ने योजना बनाएका थिए । बलिङपछि ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरी र बसिर अहमदले टोलीलाई सम्हालेर अघि बढाएको प्रदर्शन पनि उनले प्रशंसनीय रहेको बताए ।
फाइनलमा नेपालले पहिले ब्याटिङ गर्दै ३१३ रन बनाएको थियो । कप्तान लामिछानेले फाइनलका लागि विकेट राम्रो भएकाले टस जितेर ब्याटिङ रोज्नु सही निर्णय भएको बताए। आसिफ शेखको शतकसहित नेपाली ब्याटरहरूले राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै उनले बलिङतर्फ पनि टोलीले शुरुवाती विकेट निकाल्न सके खेलमा फर्किन सकिने विश्वास रहेको बताए।
युएईका राहुल चोपडाले राम्रो ब्याटिङ गरेपछि केही समय दबाब सिर्जना भएपनि खेल अन्तिम ओभरसम्म पुग्न सक्ने आँकलन टोलीले गरेको लामिछानेको भनाइ छ ।
कप्तान बनेको पहिलो सिरिजमै नेपाललाई उपाधि दिलाउँदै आफू म्यान अफ द टूर्नामेन्ट बन्न सफल भएपनि लामिछानेले व्यक्तिगत उपलब्धिभन्दा टोलीको जित ठूलो भएको बताए। उनले दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, गुल्शन झा, ललित राजवंशी, करण केसी, आसिफ शेख, रोहित पौडेललगायत सबै खेलाडीको योगदान उत्तिकै महत्त्वपूर्ण रहेको बताए।
उनले भने, ‘म्यान अफ द टूर्नामेन्ट व्यक्तिगत रूपमा खुशी लाग्ने उपलब्धि हो । तर टिमको जितमा योगदान गर्न पाएँ भन्ने कुराले अझ खुशी छु । यसको क्रेडिट सबैलाई जान्छ ।’लामिछानेले प्रशिक्षक, सहायक प्रशिक्षक, ट्रेनर, फिजियो, टेक्निकल एनालिस्ट, व्यवस्थापक तथा अन्य सहयोगी कर्मचारीलाई पनि टोलीको सफलताको ‘पर्दापछाडिका हिरो’का रूपमा स्मरण गर्नुभयो । प्रिमियर कपको उपाधिपछि नेपाली टोलीको ध्यान अब आगामी प्रतियोगितातर्फ केन्द्रित हुने लामिछानेले बताए ।
केही दिन आराम गरेपछि एशियन गेम्स र त्यसपछि एसिया कपका लागि तयारी शुरु गरिने उनले जानकारी दिए। नेपालले पछिल्लो सफलतासँगै एशिया कपमा दोस्रो पटक स्थान बनाएको छ । सन् २०२३ मा पहिलोपटक एशिया कप खेलेको नेपालले यसपटक पनि एशियाली क्रिकेटका ठूला टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको छ ।






