काठमाडौँ । भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीले रसुवाका १३ वटा खानेपानी तथा सरसफाइ आयोजनामा २५ करोड रुपैयाँभन्दा बढीको क्षति पुर्याएको छ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीबाट ती आयोजनामा कम्तीमा २५ करोड २५ लाख रुपैयाँ बराबरको पूर्ण तथा आंशिक क्षति भएको छ। आयोजनामा क्षति पुग्दा एक हजार ६२३ नागरिक सुरक्षित खानेपानी सुविधाबाट प्रत्यक्ष प्रभावित भएका छन्।
गोसाईंकुण्ड र उत्तरगयामा बढी क्षति
विभागका महानिर्देशक कमलराज श्रेष्ठले गोसाईंकुण्ड र उत्तरगया गाउँपालिकामा सञ्चालित खानेपानी आयोजनामा बाढीले ठुलो क्षति पुर्याएको बताएका छन्।
विभागका अनुसार गोसाईंकुण्ड गाउँपालिकाका वडा नम्बर १, २ र ५ मा रहेका खानेपानी आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। ती आयोजनाबाट सेवा लिइरहेका ९०० भन्दा बढी नागरिक खानेपानी सुविधाबाट वञ्चित भएका छन्।
उत्तरगया गाउँपालिकाका वडा नम्बर ३ र ४ मा सञ्चालित खानेपानी आयोजनामा पनि बाढीले पूर्ण क्षति पुर्याएको विभागले जनाएको छ।
पाइपलाइनदेखि धारासम्म बगायो
बाढीले केही आयोजनाका मूल तथा शाखा पाइपलाइन र खानेपानीका धारासमेत बगाएको छ। कैदलटार, सिम्ले मुहान र बाँसथलसिमलगायत आयोजनाका मुख्य तथा शाखा पाइपलाइन र धारामा क्षति पुगेको विभागले जनाएको छ।
अधिकांश आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएकाले प्रभावित क्षेत्रमा नियमित तथा सुरक्षित खानेपानी आपूर्ति अवरुद्ध भएको छ।
पुनर्निर्माण प्रक्रिया अघि बढाइने
महानिर्देशक श्रेष्ठले क्षतिग्रस्त आयोजनाको पुनर्निर्माण गरी खानेपानी सेवा सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया अघि बढाइने बताएका छन्।
विभागले क्षतिको विवरणका आधारमा आयोजना पुनर्निर्माण तथा प्रभावित नागरिकका लागि खानेपानी सेवा पुन:स्थापनाको काम अगाडि बढाउने जनाएको छ।






