काठमाडौँ। छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष (आइसियु)मै पुगेर बिरामीको अन्तर्वार्ता लिइएको विषय प्रतिनिधि सभामा उठेको छ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले आइसियुमा पुगेर अन्तर्वार्ता लिइएको विषयलाई गम्भीर रूपमा उठाउँदै यसप्रति आपत्ति जनाएकी हुन्।
प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद बास्कोटाले दुई दिनअघि सार्वजनिक भएको उक्त अन्तर्वार्ताले संवेदनशीलताको सीमा नै उजागर गरेको बताइन्। उनका अनुसार आइसियु अत्यन्त संवेदनशील अवस्थामा रहेका बिरामीको उपचारका लागि छुट्याइएको कक्ष हो, जहाँ बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई उच्च प्राथमिकता दिइन्छ।
आइसियुमै पुगेर अन्तर्वार्ता लिनुका साथै त्यसका लागि अनुमति दिनु पनि गम्भीर विषय भएको बास्कोटाको भनाइ छ। उनले मानिसको जीवनभन्दा ठूलो अन्य कुनै विषय हुन नसक्ने बताउँदै संवेदनशील उपचार कक्षको मर्यादा कायम गर्नुपर्नेमा जोड दिइन्।
यसअघि यही विषयमा प्रेस काउन्सिल नेपालले समेत ध्यानाकर्षण भएको जनाएको थियो। काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले विज्ञप्तिमार्फत आइसियुमा पुगेर अन्तर्वार्ता लिइएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका थिए।
रसुवामा आएको बाढीपछि उद्धार गरिएका एक व्यक्तिको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आइसियुमा उपचार भइरहेको अवस्थामा अन्तर्वार्ता लिइएको विषय सार्वजनिक भएको हो। माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाबाट बाढीमा फसेको १० दिनपछि उद्धार गरिएका व्यक्तिको आइसियुमै अन्तर्वार्ता लिई ‘इन्साइड द बंकर’ नामक युट्युब च्यानलबाट प्रसारण गरिएको थियो।
आइसियुमा उपचाररत बिरामीको स्वास्थ्य अवस्था, गोपनीयता तथा उपचारको संवेदनशीलतालाई ध्यानमा राख्नुपर्ने विषयमा सांसद रास्वपा सांसद बास्कोटा तथा प्रेस काउन्सिलको ध्यानाकर्षण भएको हो।






