काठमाडौँ । पर्साको वीरगञ्ज महानगरपालिका–१७ अलौबाट सशस्त्र प्रहरीले करिब ९ किलो ५ सय ग्राम चरेशसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत घर बताउने २० वर्षीय सन्दीप चौधरी रहेका छन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार चौधरीले मोटरसाइकलको तेल ट्यांकीभित्र फल्स बटम बनाएर चरेश लुकाई लैजाँदै गरेका थिए। मोटरसाइकलको ट्यांकीबाट २१ वटा पोकामा राखिएको करिब ९ किलो ५ सय ग्राम चरेश बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ परेका चौधरीलाई बरामद चरेश र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।






