काठमाडौँ । विभिन्न ६ विश्वविद्यालयका सेवा आयोगमा रिक्त अध्यक्ष तथा सदस्य पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ।
अध्यक्ष र सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका सेवा आयोगमा रिक्त पदका लागि आवेदन मागेको हो।
समितिका अनुसार सम्बन्धित विश्वविद्यालय ऐनमा रहेको व्यवस्थाअनुसार सेवा आयोगका अध्यक्ष तथा सदस्य नियुक्तिका लागि नाम सिफारिस गरिनेछ।
सात दिनभित्र आवेदन दिनुपर्ने
इच्छुक व्यक्तिले सूचना पहिलो पटक प्रकाशित भएको मितिले सात दिनभित्र शिक्षा तथा खेलकुद मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयभित्र आवेदन पेस गर्नुपर्नेछ।
आवेदनसँगै वैयक्तिक विवरण, माथिल्लो शैक्षिक उपाधिको प्रमाणपत्रको प्रतिलिपि र नागरिकताको प्रतिलिपि संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ।
हाल कुनै पदमा कार्यरत व्यक्तिले कार्यरत पदको नियुक्ति पत्र तथा सेवा निवृत्त व्यक्तिले पछिल्लो कार्यरत पद प्रमाणित हुने कागजातसमेत पेस गर्नुपर्नेछ। समितिले उक्त सूचना असोज १ गते पहिलो पटक प्रकाशित गरेको हो।







